काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार बिहान बसेको सोे पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर सात बर्ष यहाँ बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछिमात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको जानकारी दिए ।
‘नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागरिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।
नेकपाले शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेको थियो भने बिहीबार काँग्रेससँग छलफल गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।