काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टीले आधिकारिकता नपाउँदै एकपछि अर्को विवादमा फसिरहेको छ । शुरुवातमै देखिएको नेतृत्व चयनको विवाद अझै साम्य भएको छैन । पार्टी दर्ताका लागि निर्वाचन आयोगनमा निवेदन दिँदा निवेदनसँगै बुझाएको ५१ सदस्यीय कार्यसमितिको सूचीबारे पनि पार्टीेिभत्र असन्तुष्टि बढेको छ । नेताहरुले असन्तुष्टि व्यक्त गर्दै छुट्टा छुट्टै भेला समेत गरेका छन् ।
यी विवादका बीच तत्कालिन राजपा नेपालसँग एकीकरण गरेको जनमुक्ति पार्टीका नेताहरुले पनि असन्तुष्टि जाहेर गरेका छन् । जनमुक्ति पार्टीले एक वर्षअघि एकीकरण गरी राजपा नेपालमा समाहित भएको थियो । एकीकरणपछि साविक पार्टीमा जुन नेताको जे पोजिसन थिए, सोही पोजिसनमा राजपा नेपालमा राखिएको थियो । तत्कालिन जनमुक्ति पार्टीका सह–अध्यक्ष मानध्वज ब्लोनलाई राजपा नेपालको अध्यक्षमण्डलमा राख्ने सहमति भएको थियो । त्यो मात्र पुरा हुन सकेको थिएन । त्यसका लागि प्रयास जारी नै रहेको थियो । यही बीचमा समाजवादी पार्टीसँग राजपा नेपालले एकीकरण गरेपछि आफूहरुलाई अलपत्र छाडेको तत्कालिन जनमुक्ति पार्टीका सचिव रामचन्द्र आर्यालले आरोप लगाएका छन्
एकीकरणपछि राजपा नेपालको सचिव बनेका आर्यालले भने, ‘हामी पार्टी एकीकरण गरी राजपा नेपाल भएका थियौँ । एकीकरणपछि पार्टीको हरेक गतिविधिमा समावेश गराउने, हरेक कुरामा सम्झौता अनुसार पार्टीका नेताहरुलाई समावेश गराउँदै लैजाने कुरा थियो तर समाजवादी पार्टीसँग एकीकरणमा हामीलाई कुनै वास्ता पनि गरिएनन । अहिलेको कार्यसमितिमा हाम्रो तर्फबाट एकजना मान्छे समेत राखिएन ।’
तत्कालिन जनमुक्ति पार्टी नेपालका नेताहरुले विभिन्न माग राखेर शीर्ष नेतालाई पत्र नै बुझाएका छन् । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु अनिलकुमार झा र राजकिशोर यादवलाई छुट्टा छुट्टै भेटेर उनीहरुले सो मागपत्र बुझाएका छन् ।
जवाफमा शीर्ष नेताहरु उनीहरुलाई पनि एकता प्रक्रियामा समावेश गराउने आश्वासन दिएका छन् । ‘अहिले पार्टी दर्ता भएको छैन । पार्टी दर्ता भएर व्यवस्थित भएपछि जनमुक्तिबाट आएका नेताहरुलाई कहाँ समावेशी गराउन सकिन्छ, छलफल गरेर अघि बढ्नेछौँ भन्दै वहाँहरुले प्रतिबद्धता जनाउनु भएको छ । तर मलाई विश्वास भने लागेको छैन,’ सचिव आर्यालले भने ।
भुगोल र कलस्टरका आधारमा सबै पदाधिकारीहरुलाई नयाँ कार्यसमितिमा समावेश गराउनुपर्ने, पार्टी समायोजनका लागि बनाएको कार्यदलमा तीनजनालाई समावेश गर्नुपर्ने, एकीकरण (राजपा र जनमुक्ति) गर्ने बेला भएको सबै सम्झौताहरु कार्यान्वयन हुनुपर्ने लगायतका माग ती नेताहरुले राखेका छन् ।
जनमुक्ति पार्टीले जसपा नेपालका नेता महेन्द्रराय यादव मार्फत् राजपा नेपालसँग एकीकरण गरेको थियो । अहिले ती पार्टीका नेताहरुले महेन्द्रराय यादवसँग गुनासो गर्दा ‘यो सबै महन्थ ठाकुर र राजेन्द्र महतोले गरेको, सच्याउने उनीहरु नै हुन्’ भन्दै आफूले केही गर्न नसक्ने जवाफ दिएको नेता आर्यालले बताए ।
तत्कालिन राजपा नेपालका नेताहरुले आफूहरुलाई राजनीतिक रुपमा अलपत्र पारेको उनले आरोप लगाए । उनले भने, ‘राजपा नेपालसँग एकीकरण गरेर सो पार्टीलाई राष्ट्रिय रुप दिएका थियौँ । आदिवासी जनजातिको पार्टी पनि हो भन्ने बनाएका थियौं , तर अहिले समाजवादी पार्टीसँग एकीकरण गर्दा दुई नम्बर प्रदेशमा मात्र केन्द्रीत गरिएको छ । त्यसमा एकजना पनि पहाडी समुदाय, आदिवासी जनजाति, दलितलाई समावेश गरिएको छैन । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट कसैलाई अहिलेको कार्यसमितिमा राखेको छैन ।’
राजपा नेपालको तर्फबाट कार्यसमितिमा एकल जातीय र त्यसमा पनि दुईजना नेताको मात्र वर्चश्व रहेको गुनासो तत्कालिन जनमुक्ति पार्टीका नेताहरुको छ । त्यसो त जनमुक्ति पार्टीमा मात्र होइन, राजपा नेपालमा अध्यक्षमण्डल रहिसकेका राजकिशोर यादव र अनिलकुमार झाका निकट पनि कार्यसमितिमा परेका छैन । कार्यसमितिमा महन्थ ठाकुर निकट नौजना र राजेन्द्र महतो निकट आठजना नेता परेका छन् । शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई–दुईजना मात्र राखिएको छ । उनीहरुले असन्तुष्टि देखाएपछि कार्यसमितिलाई संशोधन गर्ने प्रतिबद्धता नेताहरुले जनाएका छन् तर हालसम्म त्यसको बारेमा कुनै गृहकार्य नभएको पार्टी निकट नेताहरु बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।