बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थारू समुदायमा माघीको चहलपहल

थारू समुदायमा माघीको चहलपहल

  • 4.0K
    SHARES

  • थारू समुदायमा माघीको चहलपहल

    देउखुरी । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।

    माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ ।

    माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरु भएको घोराही–७ वेसाहीका अनुपमा चौधरी बताउछन् । उनका अनुसार ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाउँदैछौँ, माघीको सम्पूर्ण तयारी पूरा भएको छ ।  यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइनभ्याइ छ ।

    कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । वेसाही गाउँ थारू समुदायको बाक्लो वस्ती भएको ठाउँ हो, घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुट्नुभएको छ ।

    थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउछन् । “ वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ, माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही–१७ कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन”, उनी भन्छन्, “पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो ।” सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरी बताउछन् । 

    थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरुको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए । विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्व छ । यस वर्ष कोरोनाका कारण भेला, नाचगान, सभा गर्ने कार्यक्रम नभएको उनले बताए ।

    उनका अनुसार अघिल्ला वर्षमा नाचको प्रतियोगिता हुने विभिन्न जिल्लाबाट थारू समुदायका मानिसलाई भेला गराउने गथ्र्यौँ यसपालि ठूलो कार्यक्रम छैन । परम्परा जोगाउन गाउँघरमा भेला हुने, संस्कार र संकृतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको सभापति चौधरीले जानकारी दिए ।

    घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारू समुदायको नयाँ वर्ष र महान् पर्व माघलाई आपसी मेलमिलापको रूपमा मनाउन पर्ने बताए। उनले अनावश्यक भीडभाड नगरी सामान्य तरिकाले चाड मनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गर्नुभएको छ ।

    विगतका वर्षमा स्थानीय सरकारले माघको विशेष कार्यक्रम गरेको भए पनि यस वर्ष कोभिडका कारण कुनै कार्यक्रम भएको छैन । यसैबीच लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ । 

    बुधवार, पौष २९ २०७७०८:२२:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार