बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

  • 2.2K
    SHARES

  • वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

    काठमाडौं। वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ ।

    नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक थिए । उनी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहेका थिए । पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए ।  

    रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेको नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउछन् । “रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ”, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने । प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उनको बुझाइ छ । 

    भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट प्रशिक्षक रिमाललाई नेपालको भलिबलमा अहोरात्र खटिने व्यक्तिका रुपमा लिनुहुन्छ । “नेपालको भलिबललाई अहिलेको अवस्थासम्म ल्याई पु¥याउन प्रशिक्षक रिमालको महत्वपूर्ण योगदान रहेको छ,” उनले रिमाललाई स्मरण गर्दै भने । राज्यले न्यून लगानी गरेको भलिबललाई उकास्न प्रशिक्षक रिमालले गरेको योगदानको भलिबल प्रशिक्षक, पदाधिकारी र खेलाडीले सदैव स्मरण गरिरहने प्रशिक्षक भट्ट बताउछन् । 

    पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए । खेलाडी काठमाडौँभन्दा बाहिर दुर्गम भेगमा रहेकाले उनीहरुलाई एकेडेमीमा राखेर प्रशिक्षण दिनुपर्छ भन्ने प्रशिक्षक रिमालको मुख्य माग थियो । 

    प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकूदमा रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । राखेपबाट एनआइस कोर्स गर्नुभएका  रिमाल उत्कृष्ट हुनुभएपछि २०४५ सालमा डिप्लोमा कोर्स गर्न भारतको पटियाला गरेका थिए । उनले पाकिस्तानबाट भलिबल प्रशिक्षणको ‘लेभल वान’ तथा बङ्गलादेशबाट ‘लेभल टु कोर्स’ गरेका थिए । रिमालले २०४७ सालमा नेपाली सेनाको केबलजङ्ग गणबाट प्रशिक्षणको शुरुआत गरेका थिए ।  

    श्रीलङ्कामा सम्पन्न १०औँ सागमा महिला टोलीले कास्य पदक प्राप्त गर्दा रिमाल टोलीका सहायक प्रशिक्षक थिए ।  सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उनले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाउनु भएको थियो । उक्त प्रतियोगितामा उनले ऐतिहासिक रजत पदक दिलाएका थिए । बाह्रौँ सागमा महिला टोलीले कास्य जित्दा पनि रिमाल प्रशिक्षक थिए ।

    उनकै प्रशिक्षणमा महिलाबीच भलिबल टोलीले १३औँ सागमा कास्य पदक प्राप्त गरेको थियो । राष्ट्रिय खेलकूद परिषद्ले आज बिहान राखेपमा श्रद्धाञ्जलिसभाको आयोजना गरेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । 

    शनिवार, पौष ११ २०७७०९:४७:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार