कास्की, फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बाराही मन्दिर खुला गरिएको छ ।
कोभिड–१९ का कारण गएको चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कता सहित सर्वसाधारणका लागि बिहीबारदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवरले जानकारी दिए ।
लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ,उनले भने । मन्दिर प्रवेशका लागि भौतिक दुरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार मन्दिर बन्द रहेका अवस्थामा पुजारी मार्फत नित्य पूजा हुँदै आएको थियो । मन्दिर खुलेसँगै डुङ्गा चालकले खुसी व्यक्त गरेका छन् । दश वर्षदेखि डुङ्गा चलाउँदै आएका बाबुराम पुरीले भने, मन्दिर बन्द हुँदा डुङ्गा सयर गर्नेको लागि मात्र त्यति पर्यटक आएका थिएनन् । धेरैजसो आन्तरिक पर्यटक धार्मिक आस्था लिएर मन्दिरको दर्शनका लागि आउँथे, अब मन्दिर खुला भएपछि आन्तरिक पर्यटक आउने विश्वास बढेको छ ।’ उनले लामो समय कोभिड– १९ को असरमा परेका डुङ्गा चालक अब चहल पहल बढ्छ कि भन्ने आशामा रहेको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड -१९ ले ठप्प रहेको यहाँको पर्यटन अब बिस्तारै लयमा फर्कन थालेको बताए । ‘हामीले सङ्घ, प्रदेश र पोखरा महानगर तीनै तहलाई पोखरा आसपासका धार्मिक एवं पर्यटकीय गन्तव्य खोल्नका लागि पटक–पटक आग्रह गर्याै, उनिहरू सकारात्मक भए । आजबाट बाराही मन्दिर खुला भएको छ अब अरू मठमन्दिर र पर्यटकीय गन्तव्य पनि खुल्नेछन् ।
उनले पोखरा आसपासका पर्यटकीय गन्तव्य खुलेपछि नयाँ वर्षमा हुने सडक महोत्सवमा आन्तरिक पर्यटकको आगमन बढ्न सक्ने विश्वास व्यक्त गरे, ‘कोभिड–१९ को भयबाट माथि उठेर स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित पर्यटकीय गतिविधि गर्नुको विकल्प छैन,उनले बताए ।
पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश बाह्य पर्यटक सम्म पनि पुर्याउनुपर्छ । उनले पर्यटन व्यवसायीलाई विस्थापन हुनबाट जोगाउन सरकारले ल्याएको राहत प्याकेज छिटो भन्दा छिटो कार्यान्वयन गर्न माग गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।