टोटनह्याम टटस्पर्सलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । रबर्टो फर्मिन्होले खेलको अन्तिम मिनेटमा गरेको गोल निर्णाय बन्यो ।
खेलमा लिभरपुले २६ औँ मिनेटमा मोहमद शालहको गोलको मद्दतले अग्रता लिएको थियो तर लगत्तै सन ह्युङ मिनले स्पर्सका लागि बराबरी गोल फर्काए । बराबरीतर्फ खेल अघि बढिरहेको बेला अन्तिम मिनेटमा एन्ड्रयु रोबर्टसनको कर्नरमा फर्मिन्होले हेडमार्फत गोल गर्दै लिभरपुललाई ३ अंक दिलाए ।
दोस्रो हाफमा स्पर्सका लागि स्टेभन बर्गविन र ह्यारी केनले गोल गर्ने सुन्दर अवसर गुमाएका थिए । स्पर्सले लिभरपुलको घरेलु मैदानमा खेलिएका पछिल्ला २७ लिग खेलमध्ये एक मात्र जित्न सकेको छ । एनफिल्डमा स्पर्सले पछिल्लो पटक सन् २०११ मा जीत हासिल गरेको थियो ।
१३ खेलपछि शीर्ष स्थानमा रहेको लिभरपुलका २८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको टोटनह्यामको २५ अंक रहेको छ ।
अन्य खेलमा आर्सनल साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकियो भने लिड्स युनाइटेडले न्युक्यासल युनाइटेडलाई ५–२ गोलले पराजित गर्यो । उता, एभर्टनले लेस्टर सिटीलाई २–० गोलले हरायो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।