सुरज तामांङ
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–८ मानेश्वाँराका स्थानीयले भोटेकोशी–५ जलविद्युत् आयोजनाबाट आफूहरू प्रभावित भएको भन्दै आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । उनीहरूले विकास आवश्यक भए पनि त्यसका नाममा स्थानीय बासिन्दा विस्थापित हुने वा जनधनमा क्षति पुग्ने अवस्था स्वीकार्य नहुने बताएका छन् ।
कालिका इनर्जी प्रालिद्वारा निर्माण भइरहेको उक्त आयोजनाको बाँधस्थलमा पुगेका स्थानीयले आयोजना पक्ष र सरोकारवालासँग शान्तिपूर्ण छलफल गरेका थिए । छलफलमा इलाका प्रहरी कार्यालयका प्रतिनिधि,आयोजना व्यवस्थापन र स्थानीय युवाको सहभागिता रहेको थियो । स्थानीयका अनुसार आयोजना निर्माणका क्रममा हुने विस्फोटलगायत गतिविधिका कारण घरहरूमा चिरा पर्न थालेको छ ।
सार्वजनिक सुनुवाइका बेला गरिएका प्रतिबद्धता अझै कार्यान्वयन नभएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आयोजना प्रमुख दिवाकर जोशीले स्थानीयका मागबारे गम्भीर छलफल गर्दै समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाएका छन् । स्थानीय युवा केशव तामाङले आफूहरू विकासविरोधी नभएको स्पष्ट पार्दै आयोजना सञ्चालनका क्रममा स्थानीयको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित हुनुपर्ने बताए। उनका अनुसार विकाससँगै प्रभावित नागरिकको उचित संरक्षण र क्षतिपूर्तिको व्यवस्था हुन आवश्यक छ ।
स्थानीयले सार्वजनिक सुनुवाइमा गरिएका वाचा कार्यान्वयन, क्षतिको निष्पक्ष मूल्याङ्कन,उचित क्षतिपूर्ति, स्थानीय स्रोत–साधनको प्रयोग तथा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिनुपर्ने माग दोहोर्याएका छन् । स्थानीय समुदायको विश्वास कायम राख्न आयोजनाले आफ्ना प्रतिबद्धता व्यवहारमै उतार्नुपर्ने उनीहरूको भनाइ छ । अन्यथा विकास आयोजनाप्रति असन्तुष्टि अझ बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन् ।
हाल आयोजना निर्माणको काम जारी रहे पनि स्थानीयका सरोकार सम्बोधन गर्न निरन्तर संवाद,पारदर्शिता र आपसी विश्वास अपरिहार्य रहेको देखिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।