एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएका दुई खेलमा दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैङ्लोर र तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले हार व्यहोरेका छन् ।
हिजो जित हासिल गरेका भए दुवै टीम एक खेलअघि नै प्लेअफमा पुग्ने थिए । यसअघि मुम्बई प्लेअफमा पुगिसकेको छ । अब अन्तिम चरणमा खेल बाँकी तीन स्थानका लागि ६ टीमले प्रतिश्पर्धा गर्नेछन् ।
चेन्नाई सुपर किङ्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । बैङ्लोर र दिल्लीको समान १४ अंक छ । सनराइजर्स हैदराबाद, किङ्स इलेभन पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको समान १२ अंक छ । कोलकाता रनरेटमा निकै पछाडि परेका कारण उसको संभावना गणितीय मात्र छ ।
अब लिगको अन्तिम चरणको खेलमा बैङ्लोर र दिल्ली प्रतिशपर्धा गर्दैछन् । बैङ्लोरको रनरेट राम्रो भएको हुँदा हारले पनि प्लेअफमा पुग्ने संभावना कायम छ। तर, दिल्ली हारेको खण्डमा अन्य खेलमा उसको यात्रा भर पर्छ ।
दिल्लीको भन्दा सनराइजर्स हैदराबाद र किङ्स इलेभन पञ्जाबको रनरेट राम्रो छ । अन्तिम चरणमा पञ्जाबले चेन्नाईसँग र हैदराबादले मुम्बईसँग खेल्दैछन् । दुवैले जितेर दिल्लीले बैङ्लोरसँग हार्दा यसपटक पनि दिल्लीको यात्रा टुङ्गिनेछ। दिल्ली अहिलेसम्म आईपीएलको फाइनलमा पुग्न सकेको छैन ।
अन्तिम चरणको खेलमा बैङ्लोर र दिल्लीमध्ये जुन टीम विजयी हुन्छ त्यसले दोस्रो स्थान कब्जा गर्नेछ । तर, लिग चरणको उक्त अन्तिम खेलमा दिल्ली हारेको खण्डमा भने प्लेअफकै समीकरण प्रभावित हुने संभावना छ । उसको हारले हैदराबाद र पञ्जाबलाई फाइदा पुगेको छ ।
हिजोको खेलमा बैङ्लोर हैदराबादसँग पाँच विकेटले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले गतिलो योगफल तयार गर्नै सकेन । उसले २० ओभरमा पाँच विकेट क्षतिमा १२० रन बनायो ।
बैङ्लोरको इनिङमा जोस फिलिपले सर्वाधिक ३२ रन बनाए। कप्तान विरोट कोहोली ७ रनमा बाहिरिए । हैदराबादका लागि सन्दीप शर्मा र ज्यासन होल्डरले समान दुई÷दुई विकेट लिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।