काठमाडौं : प्रतिनिधिसभाले संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप भएको छ ।
समिति अध्यक्ष जीवन परियारले कुलिङ पिरियडमा भएको त्रुटिमा अनुसन्धान गर्न समय अपुग भएकाले समय थप गरिदिन भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका थिए । सभामुख घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो । यसअघि समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन २१ दिनको समय दिइएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिएकाले ७ दिनका लागि म्याद थपिएको हो ।
समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी‘कुलिङ अप पिरियड’ को व्यवस्था विधेयकमा गरेको थियो । तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेपछि समिति बनाइएको थियो ।
यसबारे समितिमा हङ्गामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा समिति बनाइएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।