काठमाडौं, रौनक श्रीवास्तवको शानदार शतकपछि बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।
नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको छ । नवौं विकेट खसेपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकिएको घोषणा गरियो । भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए,उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए । सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए । सुयोग भट्टराईले पनि २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो । रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू-१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।
समूह ए मा नेपालको ४ खेलमा ८ अंक भएको छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल अब सेमिफाइनलमा मलेसियासँग खेल्ने भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।