काठमाडौँ, देशभरका हलमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ ।
लेखक डा.शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन् ।
फिल्मको ट्रेलर हेर्दा नै शंका लागेको र फिल्म हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा फिल्मको मूल कथासँग मिलेको उनको जिकिर छ । उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु-छोराको सम्बन्धलगायत फिल्मको मूल भावसँग मेल खाएको दाबी बस्यालले गरेका छन् ।
डा. शिवशंकर बस्यालले फेसबुकमा लेखेका छन्-
पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर उपन्यास
बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो । पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेशजस्तै लागिरहेको थियो । यसै बीचमा सङ्ग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्ग्रामपुर उपन्यासभित्र रहेको कथासँग मिलेको कुरा बताए । यसले मलाई केही कौतुहल बनायो । त्यसपछि म बिरामी अवस्थामै हल पुगेँ । पूर्ण बहादुरको सारङ्गीलाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ । चलचित्रको मूल कथाको स्वरूपमा सारङ्गी उपन्यासका मूल मिलेका मूल प्रसंग मात्र यी पाएँ ।
१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२. पूर्णबहादुरको स्त्री विछोडको रहस्यमयी प्रसंग सारङ्गीमा रूपमानको स्त्री विछोडको प्रसंगजस्तै रहस्यमयी छ ।
३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन् । आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो छ ।
४. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यंग्य गरेका छन, समीरलगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
५. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीरजस्तै टप विद्यार्थी हुनु ।
६. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७. सारङ्गी उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९. रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।
यी यी त कथाका मूल प्रसंगहरू हुन् । यीबाहेक सूक्ष्म ढंगले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग,आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन् ।
केही प्रसंगहरू बिलकुलविपरीत रूपमा प्रयोग गरिएका छन्। पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ, सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबुछोराको प्रेमसहित समीर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ ।
माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरेँ। यो भन्दा अरू कथामा नौलो भेटिनँ ।
तसर्थ यो संयोग होइन,यो नियोजित हो । एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्तिविरोधी कार्यमा लगाउने प्रपञ्च ।
कुनै लोभलालच प्रपञ्चले मैले यसो भनिरहेको छैन । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रूपरङ मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो! म अब नबोलौँ होला,तर इतिहासमा यो कोलाहाल रहिरहनेछ ।
मन जितिरहेको यो चलचित्रले अरू मान्छेहरूको मन जितिरहोस्। मेरो यही शुभकामना !!!
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।