शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

मेगा खबर संवाददाता

१३, आश्विन २०७७
  • 1.4K
    SHARES

  • जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

    फाईल तस्बिर

    काठमाडौं । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । 

    कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट सो अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन् । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।

    उनले यसअघि जरिवाना लिइएको भए सो रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ । “जरिवाना लिएको भए त्यसलाई अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुस्”, मन्त्री पुनले भने । उनले सो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैँलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरे । 

    यसैबीच प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गरेको छ । आफूले मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए । मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन् । 

    उनले त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन सुझाव दिए । लकडाउन यता रु ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट गरेका छन् । प्राधिकरणको मूल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन मन्त्री पुनले निर्देशन दिएका हुन् । 

    “वितरण प्रणालीमा सानोभन्दा सानो गडबडी नआओस्”, उनले भने, “यदि समस्या आएको अवस्थामा तत्काल समाधान होओस् ।” गत साता मौसमका कारण उपत्यकासहित मुलुकका विभिन्न स्थानमा विद्युत् सेवा आंशिक प्रभावित भएको थियो । त्यतिबेला पनि मन्त्री पुनले प्राधिकरणको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर सेवा तत्काल नियमित गर्न निर्देशन दिएका थिए ।

    यसैगरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् । 
    ­­­

    मंगलवार, आश्विन १३ २०७७०७:१७:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार