काठमाडौँ, दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले २५।२ ओभरमै पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ । ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेल खेल्नुअघि नै नेपाल उपाधि होडबाट बाहिरिएको थियो । ‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए ।
त्यो नतिजापछि नेपालसँगै न्युजिल्यान्ड र आयरल्यान्ड पनि उपाधि होडबाट बाहिरिएका थिए । साबिक विजेता भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् । उक्त समूहबाट भारत, पाकिस्तान र बंगलादेशमध्ये दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारत ६ अंकसहित पहिलो, पाकिस्तान पनि ६ अंकसहित दोस्रो र बंगलादेश चार अंकसहित तेस्रो स्थानमा छन् ।
न्युजिल्यान्ड दुई अंकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा आसिन नेपाल र छैटौँ स्थानमा आसिन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्ने प्रावधान छ । सुपर सिक्स’ चरणको समूह ‘दुई’ मा भने अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, इङ्ल्यान्ड र जिम्बाबे छन् । ‘सुपर सिक्स’ चरणको खेलको समाप्तिपछि दुबै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपको त्यही संस्करणमा नेपाल र भारतबिच पहिलो भिडन्त भएको थियो । त्यो विश्वकपमा समूह ‘सी’ बाट पाकिस्तान पहिलो र नेपाल दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका थिए । दक्षिण अफ्रिका र केन्या भने समूहगत चरणबाटै बाहिरिएका थिए । समूह ‘बी’ बाट भारत पहिलो र न्युजिल्यान्ड दोस्रो हुँदै अघिल्लो चरणमा प्रवेश गरेका थिए । त्यसपछि प्रतियोगिताको सुपर लिग चरणमा भारत र नेपाल एउटै समूहमा परेका थिए । सुपर लिग चरणको खेलमा भारतले नेपालाई आठ विकेटले हराएको थियो ।
यसैगरी सन् २०१६ मा बंगलादेशमा सम्पन्न यू–१९ विश्वकपमा पनि नेपाल र भारतबिच खेल भएको थियो । त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल र भारत समूह ‘डी’ मा परेका थिए । समूहगत चरणको खेलमा भारतले नेपाललाई सात विकेटले हराएको थियो ।
त्यो समूहबाट भारत पहिलो र नेपाल दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका थिए । न्युजिल्यान्ड र आयरल्यान्ड भने समूहगत चरणबाटै बाहिरिएका थिए । नेपालले न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई आठ विकेटले हराएको थियो । त्यो विश्वकपको क्वार्टरफाइनलमा नेपाली टोली बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।