फाईल तस्बिर
काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ । बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका थिए ।
रञ्जनाको पति शङ्करले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन् । जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए ।
पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी थिईन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।