फाईल तस्बिर
जलेश्वर । पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपडा व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् । जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत बुधबार रातिदेखि नै बेपत्ता रहेकामा उनको आजसम्म कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित बजारमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका राजु गत बुधबार राति पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किने क्रममा मटिहानी नगरपालिका–६ र जलेश्वर नगरपालिका–५ को बीचमा पर्ने वनको बाटोबाट बेपत्ता भएका थिए । बेपत्ता राजुको मोटरसाइकल साँचोसहित बाटोमै रहेको, दुवै खुट्टाका चप्पल टुटेको अवस्थामा त्यही सडकमा रहेको र उहााले लगाएको टिसर्ट पनि आधा च्यातिएको अवस्थामा त्यही सडकमा प्रहरीले फेला पारेको थियो ।
बिहीबार बिहानै प्रहरी घटनास्थल पुगेपछि फेला परेका ती सरसामानको आधारमा लछारपछार भएको र त्यसपछि उनलाई कसैले अपरहण गरी लगेको प्रहरीले अनुमान लगाएको थियो । सोही दिन घटनास्थल नजिकै रहेको सडकको दुवै छेउको झाडीमा, सीमा नजिकैको खेतबारी, नदी, पोखरी सबैतिर खोजी गरिए पनि कहीँकतै कुनै पत्तो लागेको थिएन् र आजसम्म पनि प्रहरीले उनको खोजतलास गरिरहँदा पनि कुनै पत्ता नलागेको जनाइएको छ ।
नेपाल भारत सीमा नजिकै घटना घटेकाले उनलाई कसैले भारततिर अपहरण गरेर लगेको हुनसक्ने परिवारजनले आशङ्का गरेका छन् । प्रहरीले उनको खोज तलासका लागि भारतीय पक्षसँग पनि सहयोग मागेर सबैतिर खोजतलास जारी रहेको र चाँडै पत्ता लाग्ने जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।