काठमाडौँ, मङ्सिर २२ गते, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयमा आज आयोजित अन्तरक्र्रिया कार्यक्रममा उनले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक हिंसा हुने भन्दै सबैलाई आर्थिक रुपमा समानन्तर बनाउनुपर्ने धारणा राखेका छन् । उनले भने,“राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुँदासम्म स्वास्थ्य क्षेत्रमा नर्स तथा डाक्टर उत्पादन हुन नसक्ने अवस्था छ ।
त्यसैले यसको संशोधन आवश्क छ ।” स्वास्थ्य मन्त्रालयमा बजेट अभावका कारण सीमित स्रोत साधनमा मन्त्रालयको कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको मन्त्री बस्नेतको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइले मानव अधिकारको संरक्षण,संवद्र्धन,प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार,आकस्मिक स्वास्थ्य सेवामा सबैको पहुँचलगायत काममा मन्त्रालय निरन्तर लागिरहेको बताए ।
उनले महिला,किशोरी,बालबालिका,अपाङ्गता भएका व्यक्ति,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा ज्येष्ठ नागरिकका स्वास्थ्यसम्बन्धी हक अधिकारलाई प्राथमिकतामा राखी सङ्घीय संरचनाबमोजिम स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति,२०८० कार्यान्वयनमा आएको जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।