काठमाडौं, भदौ २७ गते, क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको हो ।
लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार उक्त मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको छ । सोही दिन वा सोही दिनबाट हेर्दाहेर्दैमा राखेर मुद्दाको अन्तिम सुनुवाइ गर्न लागिएको हो । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ ।
पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् । जन्म दर्ता रहेको आधिकारिक निकायबाट आएको जन्म मितिमा भने पीडित भनिएकी किशोरीको उमेर वारदातको समयमा १८ वर्ष तीन महिना रहेको दाबी छ ।
वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गतेको मितिमा किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको र जन्म मिति २०६२ जेठ १८ गते रहेको पीडित पक्षले दाबी गरेका छन् । तर आरोपित पक्षले भने किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको दाबी गरी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।
संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ । सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको थियो ।
सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले साउन ३२ गतेलाई नै अन्तिम सुनुवाइको मिति भनेको थियो । उक्त मितिमा प्रमाण बुझ्ने आदेश दिइएको थियो । भदौ १० गतेको पेसी हेर्न नभ्याउनेमा परेको थियो भने भदौ २१ गतेको पेसीमा पुनः प्रमाण बुझ्ने आदेश भएको थियो ।
असोज १ गते वा सो दिनबाट हेर्दाहेर्दैमा राखेर अन्तिम सुनुवाइ गरिएमा सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निर्क्योल हुनेछ । अभियोग दाबीबाट सफाइ पाएमा उनीमाथिको सर्त र प्रतिबन्धहरु हट्नेछन् भने दोषी ठहर भएमा सजाय भुक्तानका लागि उनी जेल जानेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।