बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तथ्यांकमा काठमाडौँ : जनघनत्व र जनसंख्या सबैभन्दा बढी

तथ्यांकमा काठमाडौँ : जनघनत्व र जनसंख्या सबैभन्दा बढी

मेगा खबर संवाददाता

१०, श्रावण २०८०
  • 1.2K
    SHARES

  • तथ्यांकमा काठमाडौँ : जनघनत्व र जनसंख्या सबैभन्दा बढी

    काठमाडौं, साउन १० गते,राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार संघीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसंख्या र जनघनत्व भएको जिल्ला हो । 

    देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसंख्या पाँच हजार छ सय ५८ जना छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ९८ जना छ । दश वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर चार सय ६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व छ । 

    जिल्लागत रुपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौँमा छ । काठमाडौँमा प्रतिवर्ग किलोमिटर पाँच हजार एक सय ६९ जना छन् । सबैभन्दा कम जनघनत्व मनाङमा छ । मनाङमा प्रतिवर्ग किलोमिटर तीन जना मात्रै जनघनत्व रहेको छ । काठमाडौँको जनसंख्या हेर्दा १० लाख ३५ हजार सात सय २६ जना पुरुष र १० लाख पाँच हजार आठ सय ६१ जना महिला रहेका छन् । काठमाडौँमा प्रतिघरधुरी औसत जनसंख्या तीन दशमलव ७५ जना छ । यहाँको जनसंख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको सङ्ख्या दुई लाख २६ हजार छ सय ६० जना छ । 

    जुन काठमाडौँ जिल्लाको कुल जनसंख्याको ११ दशमलव १० प्रतिशत बराबर हो । २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसङ्ख्या दुई लाख १५ हजार एक सय २० जना छ । यो जिल्लामा ९० वर्ष माथिका नौ सय ८० जना छन् । काठमाडौँ जिल्लामा मात्र पाँच लाख ४२ हजार आठ सय ९२ परिवार बसोबास गर्छन् । तीन लाख ६२ हजार एक सय ४७ परिवारको मूली पुरुष र एक लाख ८२ हजार सात सय २० परिवारको घरमूली महिला छन् । 

    काठमाडौँमा कूल विवाहितको सङ्ख्या १७ लाख ८८ हजार ६२ जना छ । जसमध्ये विवाहित पुरुषको सङ्ख्या आठ लाख ९८ हजार तीन सय ५२ र विवाहित महिलाको सङ्ख्या आठ लाख ८९ हजार सात सय १० जना छ । यहाँ छयालीस हजार ९६ विधवा र नौ हजार सात सय ५५ विदुर रहेका छन् । एक हजार तीन सय ३८ जना पुरुष र दुई हजार आठ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्यांकमा उल्लेख छ । 

    यो जिल्लामा पाँच वर्षभन्दामाथि उमेरका ५२ हजार नौ सय ५२ जना पुरुष र एक लाख ४४ हजार तीन सय ९५ जना महिला गरी कुल एक लाख ९७ हजार तीन सय ४७ जनाले लेख्न र पढ्न सक्दैनन् । एक लाख ४९ हजार आठ सय ६ जना पुरुष र एक लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन् ।

    खाना पकाउनका लागि काठमाडौँका १० हजार दुई सय ७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै, पाँच लाख २६ हजार नौ सय ३१ परिवारले खाना पकाउने ग्यास, चार हजार छ सय ९४ परिवारले बिजुली, पाँच सय ६१ परिवारले बायो ग्यास, एक सय ५७ परिवारले मट्टितेल र दुई सय ७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन् ।

    काठमाडौँका पाँच सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छैनन् भने एक हजार तीन सय पाँच परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन् । काठमाडौँ जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका तीन लाख ४९ हजार दुई सय ७४ जना पुरुष र पाँच लाख तीन हजार दुई सय ८१ जना महिला गरी आठ लाख ५२ हजार पाँच सय ५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्यांकले उल्लेख गरेको छ । 

    पछिल्लो एक वर्षमा कुनैपनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये तीन लाख ७६ हजार नौ सय ५४ जना विद्यार्थी, एक लाख ९८ हजार छ सय ३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार एक सय तीन जना वृद्ध  तथा १६ हजार ११ जना शाररिक रुपमा अशक्त छन् । पाँच लाख १२ हजार चार सय २७ जना जागिरमा रहेको, ३२ हजार तीन सय ८८ जनाले अरुलाई जागिर दिइरहेको, दुई लाख ८२ हजार पाँच सय ५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र एक लाख आठ हजार १३ जनाले परिपारिव व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ ।

    अठार वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या पाँच लाख आठ हजार तीन सय ९९ जना रहेकोमा आमाबुबा दुवै अविभावकसँग बस्नेको सङ्ख्या चार लाख दुई हजार एक सय ७४, आमासँग मात्रै बस्नेको सङ्ख्या ५५ हजार तीन सय ६९, बुबासँग मात्रै बस्नेको सङ्ख्या सात हजार दुई सय, बुबा र सौतेनी आमासँग बस्नेको सङ्ख्या आठ सय ७७, आमा र सौतेनी बुबासँग बस्नेको सङ्ख्या दुई सय २८, अन्य नातेदारसँग बस्नेको सङ्ख्या २८ हजार तीन सय ४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको सङ्ख्या नौ सय ७१ जना छ ।

    काठमाडौँमा दुई लाख ५८ हजार एक सय ३८ आवासीय प्रयोजनका, २४ हजार चार सय ७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, तीन हजार एक सय ७५ वटा सरकारी, तीन हजार एक सय २५ वटा शैक्षिक, ६ सय ६७ वटा स्वास्थ्य क्षेत्रका, तीन हजार आठ सय ९२ वटा उद्योग क्षेत्रका, छ सय ६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, तीन हजार २४ वटा होटल तथा लज, चार हजार दुई सय ७६ वटा भण्डारण तथा गोदाम रहेका भवन छन् ।

     

    बुधवार, श्रावण १० २०८००४:२९:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार