काठमाडौँ, एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले आज भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १४.५ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको नेपालका लागि नरेन भट्टले सतकीय पाली खेले । उनले टोलीका लागि अविजित एक सय १२ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले केवल ८९ बलको सामना गरी दुई छक्का र १० वटा चौका हिर्काएका थिए ।
निरजकुमार यादवले ४७ रन बनाए । ओपनर ब्याट्सम्यान निरजले ४९ बलको सामना गरी ६ चौका हिर्काएका थिए । सन्तोष यादवले २९ बलमा दुई चौकाको मद्दतले २६ रन जोडे । ओपनर ब्याट्सम्यान सूयान्सु कोइराला १८ रनमा पेभेलियन फर्किए भने अशोक धामीले ११ रन बनाए । नेपालले अतिरिक्त रूपमा २६ रन पाएको थियो । मलेसियाका बलर मुहम्मद अक्रमले तीन विकेट लिए ।
जवाफी ब्याटिङ गरेको मलेसियाका लागि छैटौं नम्बरका ब्याट्सम्यान मुहम्मद अक्रमले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । उनी १० रन बनाउँदै आउट भए । मलेसियाले अतिरिक्त रूपमा ६ रन पाएको थियो । नेपाली टोलीका बलर अभिषेख तिवारी एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल सात रन खर्चिएका थिए । सन्तोष यादवले तीन विकेट हात पारे । उनले तीन ओभरमा दुई मेडन राख्दै नौ रन खर्चिएका थिए । सागर गैरेले पनि एक विकेट लिए । अशोक धामीले एक विकेट हात पारे ।
नेपालले हिजो भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयोजक मलेसिया भने अर्को सेमिफाइनल खेलमा हङ्कङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । यही प्रतियोगिताको समूहगत चरणको खेलमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो । उक्त खेलमा विजयी भएपछि नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।