बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । फाइनल खेलमा हिमचुली क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गर्दै पाटनले उपाधि हात पारेको हो ।
पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्दै हिमचुलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको विजयी लक्ष्य पाटनले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । पाटनका लागि धीरेन्द्र चन्दले ५५ र किरन चन्दले ४५ रन बनाए ।
यसअघि ब्याटिङ गर्ने क्रममा हिमचुलीका कप्तान सन्नी विष्टले ५२ रन बनाए । बलिङतर्फ पाटनका लागि किरन चन्दले दुई विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए । उपाधिसँगै पाटने रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हिमचुलीले रु नौ हजारसहित ट्रफी र प्रमाणपत्र पायो ।
प्रतियोगितामा हिमचुलीका विकास विष्ट म्यान अफ दी सिरिज तथा हिमचुलीकै सन्नी विष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए । पाटनका धीरेन्द्र चन्द उत्कृष्ट बलर घोषित भए । यही जेठ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १५ टोलीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।