काठमाडाैँ, चैत्र २९
नेपाल बार एसोसिएसनले सरकारलाई प्रधानन्यायाधीश नियुक्ति गर्न १० दिनको अल्टिमेटम दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालतमा पनि रिक्तता देखिएको र जिल्लामा ५० न्यायाधीश खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
“हामीले प्रधानमन्त्रीको यसबारे ध्यानाकर्षण गराइसकेका छौँ । अब न्यायालय न्यायाधीश नभएर न्यायनिरूपण नै गर्न नसक्ने अवस्थामा रहिरहन सक्दैन,” बार अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, “हामीले सरकारलाई अल्टिमेटम दिएका छौँ । नियुक्ति भएन भने केही समयभित्रै बार आन्दोलनमा उत्रिन्छ ।”
उनले बार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको मूलमर्मलाई आत्मसात् गर्दै निरन्तर क्रियाशील रहेको जिकिर गरे, विगतको आन्दोलन दोहोरिने अवस्था नबनाउन सरकारलाई आग्रह गरे,“नेपाल बार एसोसिएसनले न्यायपालिकाको विकृति, विसंगति अन्त्य गर्न विगतको १०९ दिने न्यायपालिका शुद्धीकरण र शुद्धीकरण अभियानलाई वर्तमान कार्यसमितिले स्वामित्व ग्रहण गरी सो कार्यलाई निरन्तरता दिँदै आएको छ,” अध्यक्ष घिमिरेले भने,
उनले भने,का.मु. प्रधानन्यायाधीशको भरमा अहिले सर्वोच्च अदालत चलेको छ । अहिले एक वर्षभन्दा बढी भइसक्यो । यो अविलम्ब कानूनबमोजिम नियुक्ति हुनुपर्छ । यो नियुक्ति नहुनु भनेको सम्पूर्ण न्यायपालिकाको लागि शुभलक्षण होइन । यसमा नेपाल सरकारले पूरा ध्यान दिओस् । न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य हुनुपर्छ ।
उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथिको महाअभियोगको टुंगो चाँडो लगाउन पनि माग गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।