काठमाडाैँ, चैत्र २७
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जेससले गोल गर्नुभयो । लिभरपुलका मोहम्मद सलाह र रोबर्टो फिर्मिन्होले बराबरी गोल फर्काउनुभयो ।
आठौँ मिनेटमा मार्टिनेलीले गोल गर्दै पाहुना टोली आर्सनलको उत्साह जगाउनुभएको थियो । त्यसपछि २८औँ मिनेटमा जेससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो ।
आर्सनलको लगातार दुई गोलपछि जोसिएको लिभरपुल ४२औँ मिनेटमा सलाहको गोलमा खेलमा फर्किएको थियो । त्यसपछि सलाह मिनेटमा पेनाल्टीमा चुक्नुभएको थियो । ८७ औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई हारबाट जोगाउनुभयो ।
बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलको ३० खेलबाट ७३ अङ्क छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ६ अङ्कले अगाडि छ । एक खेल कम खेलेको सिटीको ६७ अङ्क छ । ४४ अङ्क बनाएको लिभरपुल आठौँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलले हराएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।