काठमाडाैँ, फागुन २
आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजमा पाहुना टोली नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाले नेपाललाई दिएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो ।
यसअघि नामिबियाले ७ डिसेम्बर २०२२ मा नेपाललाई २ सय ७६ रनको लक्ष्य दिएको थियो । सो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका लागि माइकल भान लिङ्गेनले शतकीय पारी खेले । १३७ बलको सामना गरेका उनले ५ छक्का र ९ चौकासहित १ सय ३३ रन बनाए ।
एकदिवसीय करियरमा लिङ्गेनको यो करियरकै उच्च स्कोर हो । कप्तान गेहार्ड इरास्मसले ७९ बलमा तीन छक्का र दुई छक्काको सहयोगमा ५६ रन बनाए ।
यस्तै, जेन ग्रीनले ३४, चार्ल्स बर्केनस्टक, जन फ्राइलिंकले १३१३ र रुबेन ट्रम्पलम्यानले ११ रन जोडे । बलिङमा करण केसीले १० ओभरमा एक मेडनसहित ६१ रन दिएर ५ विकेट लिए ।
उनले तेस्रोपटक एकदिवसीयमा ५ विकेट लिएका हुन् । त्यस्तै, पूर्वकप्तान सन्दीप लामिछानेले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । ६ महिनापछि मैदान फर्किएका उनको कमब्याक राम्रो रह्यो ।
गत भदौमा एक नाबालिगले जबर्जस्तीकरणीको उजुरी दिएपछि सन्दीप ६ महिना मैदान बाहिर थिए । गत पुसमा पाटन अदालतले धरौटीमा छोड्न आदेश दिएपछि भने उनी पुनः मैदान फर्किएका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।