बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो

हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो

मेगा खबर संवाददाता

२९, कार्तिक २०७९
  • 1.1K
    SHARES

  • हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो

    काठमाडाैँ, कार्तिक २९

    हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ रहेको छ ।

    स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थान अनुसार राष्ट्रिय विषय पनि यतिखेर दलहरूका घोषणापत्र तथा उम्मेदवारका प्रतिबद्धतामा समेटिएका छन् । गण्डकी प्रदेशका ११ वटै जिल्लामा चुनावी माहोल तातिरहेका अवस्थामा विगतमा जस्ता भड्किलो प्रचार भने नदेखिएको मतदाताको अनुभव छ ।

    विगतका निर्वाचनमा चर्का माइक,बाजागाजा आदिका कारण ध्वनी प्रदूषण गर्ने गरी हुइँकिने गाडीहरूसँगै कार्यकर्ताहरूको उत्ताउलो प्रचार अहिले भने निकै कम भएको कास्कीको गगनगौंडाका मतदाता सुनिल सुवेदी बताउँछन् । निर्वाचन आयोगको निगरानीसँगै दलहरूमा राजनीतिक संस्कार परिवर्तन भएको पाइएको यस पटकको प्रचारशैलीले देखाएको उनको भनाइ छ ।

    गण्डकीमा नेपाली कांग्रेससहितका दल गठबन्धन गरी चुनावमा होमिएका छन् भने नेकपा (एमाले) सहित अन्य दलहरू छुट्टाछुट्टै उम्मेदवारी दिएर प्रतिस्पर्धामा छन् । विगतको चुनावको गणितले गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिए अन्य नयाँ तथा साना दल पनि उच्च मनोबलका साथ निर्वाचन आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय छन् ।

    कूल ११ वटा जिल्लामा समेटिएको गण्डकीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट रहेको छ । २०७४ को निर्वाचनमा एमाले—माओवादी वाम गठबन्धन बनाई चुनावमा जाँदा उक्त गठबन्धनले १६ स्थानमा जितेको थियो । त्यस निर्वाचनमा कांग्रेसले नवलपुर निर्वाचन १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट चुनाव जितेका थिए ।

    त्यतिबेलाको समीकरण बदलिएर हाल सो वाम गठबन्धन टुटेको छ । नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टैछन् भने एमाले विभाजित भएर (एकीकृत समाजवादी) बनेको छ । अहिले कांग्रेससहित माओवादी, एकीकृत समाजवादी एक ठाउँमा छन् । त्यसले गर्दा गण्डकी प्रदेशमा ७४ सालको निर्वाचनभन्दा यसपटक निर्वाचन परिणाम फरक आउने अनुमान गरिएको छ ।

    मुस्ताङ, मनाङ, स्याङ्जाको १, कास्कीको ३ र तनहुँको २ मा एमाले काङग्रेस भन्दा  हजार कम मतले अगाडि रहेको छ । मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ । गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ भने एउटामा कांग्रेस र अर्कोमा माओवादी अगाडि देखिन्छ ।

    स्थानीय तहको नतिजालाई आधार मान्दा यसपटक कास्कीको २ र ३, पर्वत, नवलपुरको २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी क्षेत्रमा एमालेले पाएको र गठबन्धनको दलले प्राप्त गरेको मत लगभग बराबरी अवस्थामा छ ।

    तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ मा कांग्रेसले ३३ हजार आठ सय ३७ मत ल्याउँदा एमालेले ३० हजार एक सय ९६, माओवादीले तीन हजार दुई सय ७८ र  राप्रपाले एक हजार आठ सय १८ मत ल्याएका थिए ।

    मंगलवार, कार्तिक २९ २०७९१२:३६:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार