काठमाडाैँ, कार्तिक १४
नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध आज मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले बताए । फाइल तयार पारेका छौ । आजै मुद्दा दर्ता हुन्छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ ।
उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरे ,पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबी गरेको परिसर स्रोतले भन्यो, क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको खुलेको समेत छ ।
पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भएकाले हामीले उनको सम्पत्ति पनि छानबिन गराएका छौं । प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ । लामिछानेले इन्कारी बयान दिँदै आएका छन् ।
प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । मुद्दामा चाहिने खालका प्रमाणहरू सबै संकलन गरेका छौं,। थुप्रैसँग बयान लिएका छौं । उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको स्रोतले जनाएको छ ।
प्रहरीले अर्का क्रिकेटर देव खनाल, होटलका सञ्चालक, होस्टेल सञ्चालक लगायतसँग बयान लिएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछाने असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो ।
भदौ ६ गते बिहानै होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो । जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो ।
प्रहरीले काठमाडौंको उक्त होटलको सिसिटिभी फुटेजलाई पनि प्रमुख प्रमाणको रूपमा लिएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।