काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न पाँच पदका लागि दरखास्त आह्वान गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल )आइसिसी) बाट अनुमति प्राप्त भएसँगै क्यानले बिहीबार विहान पाँच पदका लागि दरखास्त आह्वान गरेको हो।
क्यानले प्रमुख प्रशिक्षक, महाप्रवन्धक, प्रमुख बित्त प्रवन्धक, क्रिकेट व्यवस्थापक र प्रदेश प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो। क्यानले प्रदेश प्रशिक्षक ७ जना र अन्य पदका लागि एक जनालाई छनोट गर्नेछ।योग्यता पुगेका उम्मेदवारले २० दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहितको निवेदन क्यानको इमेलमा पठाउन सक्नेछन्।
प्रमुख प्रशिक्षक बन्नका लागि लेभल(३ को प्रशिक्षण कोर्स गरेको हुनुपर्छ। प्रमुख प्रशिक्षकमा निवेदन हाल्न आइसिसीको स्थायी सदस्य, पहिलो श्रेणीको टिम, एसोसिएट सदस्य र अन्तर्राष्ट्रिय लिग मध्ये एक स्थानमा तीन वर्षको अनुभव हुनु पर्नेछ।
यस्तै महाप्रवन्धकका लागि व्यवस्थानपनमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्नेछ भने दुई वर्षको अनुभव र क्रिकेट बुझेको हुनु पर्नेछ।
बित्त प्रवन्धकका लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्नेछ भने पाँच वर्षको अनुभव र क्रिकेट बुझेको हुनु पर्नेछ।
क्रिकेट व्यवस्थापकका लागि लेभल–२ को प्रशिक्षण कोर्स गरेको हुनुपर्छ। यस्तै स्नातकोत्तर उत्तीर्ण गरेको हुनु पर्नेछ भने दुई वर्षको अनुभव र क्रिकेट बुझेको हुनु पर्नेछ।
गत माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पद रिक्त छ। अहिले राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी छ।
यसअघि भारतका लालचन्द राजपुत नेपालको प्रशिक्षक बन्ने चर्चा चलेको थियो। तर उनी जिम्बावेकै प्रशिक्षक रहने जिम्बावे क्रिकेटले जनाएको थियो।
क्यानले महाप्रवन्धक, बित्त प्रवन्धक र क्रिकेट व्यवस्थापकका लागि पहिलो पटक दरखास्त आह्वान गरेको हो।
गत वर्ष क्यानको निर्वाचन भएर आइसिसीबाट निलम्बन फुकुवा भएपछि क्यानको व्यवस्थापनका लागि विभिन्न पदमा पदपूर्ति गरिने बताइएको थियो। तर एक वर्षपछि क्यानले पदपूर्ति गर्न लागेको हो।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।