बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

यि प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

मेगा खबर संवाददाता

१०, आश्विन २०७९
  • 1.4K
    SHARES

  • असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यस अन्तर्गतका खेल खेलाइँदैछ । नेपाली खेलकुदको ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो ।

    प्रतियोगिताको मिति आउन तीन साताभन्दा कम समय बाँकी छँदा प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रङ्गशाला सहित तोकिएका खेलस्थलमा पूर्वाधार मर्मत तथा स्तरोन्नतिको काम बल्ल सुरुआत भएको छ ।कास्कीसहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुद अन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । त्यसमध्ये पनि अधिकांश खेल पोखरा रङ्गशालामा नै तोकिएको छ ।  

    पोखरा रङ्गशालामा मात्र १६ खेल सञ्चालन हुँदैछन् । प्रतियोगिताको तयारीका लागि प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तयारीका काम अघि बढाएको छ । विभिन्न १४ वटा उपसमितिले आफ्नो जिम्मेवारीका कामलाई अघि बढाएका छन् ।

    प्रतियोगिताका लागि अहिले पोखरा रङ्गशालाभित्रका खेलस्थलको मर्मत, सरसफाइ तथा स्तरोन्नति सुरु भएको छ । प्रतियोगिता नजिक आएकाले नयाँ खेलस्थल निर्माण हाललाई सम्भव छैन । प्रतियोगितालाई भव्य बनाउनका लागि भएका पूर्वाधारको स्तरोन्नतिको काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । 

    उनका अनुसार तोकिएका खेलस्थलमा अहिले पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ तथा खेल्न योग्य बनाउने काम भइरहेको छ । उनले भने, “नयाँ पूर्वाधार बनाउनका लागि समय र बजेट दुवै हामीसँगै छैन तर भएका पूर्वाधारलाई राम्रो बनाउनका लागि स्तरोन्नतिका सानातिना काम सुरु भएका छन् । खेल खेल्नका लागि योग्य बनाउन खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रङरोगनलगायतका काम सुरु भएको छ ।”

    राखेपले प्रतियोगिता तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । उपसमितिले आफ्नो जिम्मेवारीका काम सुरु गरेका छन् । खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताअन्तर्गतका ३६ वटै खेलका खेलस्थल टुङ्गो लगाएको छ । केही खेलका खेलस्थल परिवर्तन हुने अझै सम्भावना छ । राखेपले खेलस्थलको पूर्वाधार स्तरोन्नतिका लागि रु एक करोड बजेट छुट्टाएको समितिका कार्यालय प्रमुख योगीले बताउनुभयो । उनका अनुसार पूर्वाधार स्तरोन्नतिको कामका लागि रु दुई करोड खर्च लाग्ने अनुमान छ ।

    “खेलस्थल व्यवस्थापनका लागि हाल रु एक करोड बजेट छ तर सो बजेट अपुग हुने देखिएको छ । प्रतियोगिता सञ्चालन गर्न र खेल्नयोग्य बनाउन रु दुई करोड खर्च लाग्ने देखिएपछि राखेप सदस्य सचिवसँग कुरा गरेका छौँ,' उनले काम अघि बढाउन भने । एक सातामा स्तरोन्नतिका काम सक्छौँ ।” कार्यालय प्रमुख योगीले भने । राखेपले गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँबाहेकका जिल्लामा राष्ट्रिय खेलकुद अन्तर्गतका खेल खेलाउने गरी खेलस्थल तोकेको छ ।

    महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाउने तय गरिए पनि बास्केटबल तनहुँमा खेलाउने गरी कुराकानी अघि बढाइएको राखेप बोर्ड सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए ।

    उनले भने, “गण्डकीका ११ वटै जिल्लाका कम्तीमा एक खेल खेलाउने र प्रतियोगिताको अपनत्व सबै प्रदेशवासीलाई दिने योजनामा थियौँ तर हिमाली जिल्लामा मौसमका कारण सम्भव देखिएन । पछिल्लो समय तनहुँमा महिला बास्केटबल लैजानका लागि त्यहाँको नगरपालिकासँग सकारात्मक कुरा भएको छ । अन्तिम निर्णय हुन बाँकी छ ।” 

    प्रतियोगिता तयारीका लागि मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा राखेप मातहतको क्षेत्रीय खेलकुद विकास समितिले पूर्वाधार स्तरोन्नति र व्यवस्थापकीय काम गर्दै आएको छ । यसैगरी स्थानीय आयोजकसमेत रहेको गण्डकी प्रदेश सरकारले प्रदेशको आफ्नो तयारीका काम गरिरहेको हो । 

    प्रदेश सरकार मातहतको गण्डकी प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोट, विशेष तथा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ । गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउनका लागि सबै खेलका खेलका खेलाडी छनोट सकेर विशेष प्रशिक्षण सुरु गरेको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । 

    उनका अनुसार यही असोज १ देखि दुई साताका लागि विशेष प्रशिक्षण सुरु भएको छ भने दसैँपछि लगत्तै बन्द प्रशिक्षण सुरु हुनेछ । गण्डकीले पदकको बढी आशा भएका कराँते र बास्केटबलको हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण हाइअल्टिच्युड ट्रेनिङ सुरु गेको छ । उनले भने, “गण्डकीले भाग लिने सबै खेलका खेलाडी छनोट सकेर अहिले विशेष प्रशिक्षण सुरु गरेका छौँ । मनाङमा आइअल्टिच्युट ट्रेनिङ जारी छ । यसले खेलाडीको खेल कौसल र क्षमता वृद्धि गर्ने विश्वास लिएका छौँ ।”

    गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदकमा ११ टोलीको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लाग आठ हजार हाराहारीमा खेलाडीका बीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । 

    सोमवार, आश्विन १० २०७९०९:५६:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार