कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहोरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिए ।
भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँ-ठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उनी नाक र मुख छोपेर हिँड्न बाध्य भएका हुन् । उनले भने, ‘बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको छ ।’
भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ।भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भई बरण्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुर्याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।
कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठा कोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै थिए। नाम भन्न नचाहेका उनले भने, ‘राजश्व संकलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याका बीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लाग्यो ।’
कार्यालयको मुख्य ढोकाको छेउमा रहेको ‘हेल्प डेस्क’मा बसेका भन्सारका एक कर्मचारीले भने, ‘हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्यो ।’
भन्सार छलेर चोरीपैठारीको अभियोगमा प्रहरीले झण्डै तीनचार बोरा परिमाणको उक्त खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।
लिलाम गर्नुपर्ने उक्त खाद्य सामग्री कार्यालयको बरण्डामा थन्क्याइँदा भित्र पसेका बाँदरले खाएर नोक्सान पुर्याएका हुन्। उक्त खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।