काठमाडाै, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ ।
असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको छ । प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत हिजोको बैठकमा प्रदेशसभा सदस्यहरुले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बताए ।
बैठकमा मुख्यमन्त्री पाण्डे सहित, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धर, श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईं, स्वास्थ्यमन्त्री निमा लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भण्डेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेटबारे उठाएका प्रश्नको जवाफ दिएका समेत थिए ।
प्रश्नको जवाफ दिँदै उनीहरुले समग्र प्रदेशको विकासका लागि आएका योजनाका लागि बजेट पर्याप्त नभए पनि सरकारले सक्दो प्रयास गर्ने गरेर आवश्यक योजनामा बजेट विनियोजन गरेको बताए । उनीहरुले योजना र गर्नुपर्ने काम बढी भएकाले आर्थिक वर्षको बीचमा आवश्यकताको आधारमा योजना तथा बजेट थप गरेर काम गर्नुपर्ने बताएका छन् ।
विगतका सरकारले ल्याएको जस्तो हचुवाको योजना र काम गर्न नसकिने महत्वाकांक्षी योजना वर्तमान सरकारले बजेटमा समावेश नगरेको उनीहरुले उल्लेख गरे । सरकारले लक्ष्य अनुसार, योजना कार्यान्वयन गरेर खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाका लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उनहरुले उल्लेख गरे । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।