मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ ।
सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् ।
भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ । विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ ।
नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् । सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।
यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशाला लगायत स्थानमा छायाँकन गरिएको हो । भिडियोमा स्वयम् मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ । भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।