काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् ।
सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।
उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो ।
जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे ।
सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए ।
नवौँ ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए ।
त्यसपछि ११औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे ।
यस्तै खेलको १३औं ओभरमा उनले आठ रन दिए ।
सन्दीपले १५औं ओभरको दोस्रो बलमा विकट लिए । २१ बलमा २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जाड्रनको विकेट लिएका थिए । उनले चौथो ओभरमा मात्र चार रन खर्चे ।
ट्रीनिडाड एन्ड टोबेगोमा जमैकाको कप्तानी रोभमन पावेलले तथा सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गरेका थिए । जमैकाले टस जितेर फिल्डिङ राजेको थियो ।
सेन्ट लुसियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो ।
एक सय ५९ को विजय लक्ष्यका साथ जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।
सेन्ट लुसियाका लागि रोस्टन चेसले ५२ रन बनाए ।
यस्तै नाजिबउल्लाह जाड्रनले २५, आन्द्रे फ्लेटचरले २२ तथा मार्क डियलले १७ र मोहमद नाबीले १३ रनको योगदान दिए । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र भिरासामी परमाउलले दुई दुई तथा आन्द्रे रसेलले एक विकेट लिए । जमैकाका लागि असिफ अलीले अविजित ४७, ग्लेन फिलिप्सले ४४, कप्तान रोभमन पावेलले २६ तथा आन्द्रे रसेलले १६ रनको योगदान दिए ।
जमैकाको शुरुआत राम्रो रहेन । जमैकाले पाँच रनमा पहिलो विकेट तथा १३ रनमा दोस्रो विकेट गुमाएको थियो ।
तेस्रो विकेटका लागि पावेल र फिलिप्सले अर्धशतकीय पारी खेले । बलिङतर्फ सेन्ट सुसियाका केस्रिक विलियम्सले दुई तथा आवेड मकेय, स्कट कगेल्जिन र राहकिम क्रनवालले एक एक विकेट लिए ।
अब सन्दीपको टोली जमैकाले शनिबार ट्रिबागो नाइट राइटर्ससित दोस्रो खेल खेल्नेछ । उक्त खेल बिहान सवा तीन बजे सुरु हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।