आयोजक नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि आज मरिससकाे टोली काठमाण्डाै आइपुगेको छ ।
पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टाेली अहिले बन्द प्रशिक्षणमा छ ।
फिफा वरीयताको अहिले एक सय ७२ औँ स्थानमा रहेको मरिसस टाेलीले नेपालसँग सुखद नतिजाकाे लक्ष्य लिएर आएको बताए । कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मरिसस नेपाल आएको हो । पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताए ।
मैत्रीपूर्ण खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आइपुगेको टोलीको कोरोना परीक्षणपछि मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी छ । कोभिड मापदण्ड अन्तर्गत मरिसस टोली खेलभन्दा पाँच दिन अगाडि नै काठमाण्डाै आइपुगेकाे हो ।
नेपालसँग हुने खेल मरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशन्स छनोटको तयारीका रूपमा लिएको छ । घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षक फ्रान्काेइसले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।