बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

युवालाई राजनीतिमा आकर्षण बढाउन युवा नेतृत्व आवश्यक

युवालाई राजनीतिमा आकर्षण बढाउन युवा नेतृत्व आवश्यक

  • 4.9K
    SHARES

  • युवालाई राजनीतिमा आकर्षण बढाउन युवा नेतृत्व आवश्यक

    नेपाली राजनीति वृत्तमा पुस्ता हस्तान्तरणको बहसले राजनैतिक रङ्गमञ्च तरङ्गित गराउने गर्छ । युवावर्गलाई राजनैतिको मुल नेतृत्व प्रदान गरिनु पर्छ भनेर दमित र असन्तुष्ट आवाजहरु निरन्तर आउने गर्छन् । तर नेपाली राजनीतिले कहिले पुस्ता हस्तान्तरण गर्ने हो? त्यो समयको गर्भमा रहेको छ ।

    देशको सम्पूण क्षेत्र कतै न कतै राजनीतिबाटै प्रभावित भएको हुन्छ । हाम्रो परिवार, समाज पनि राजनीतिबाट अछुतो हुने कुरै भएन । हाम्रो देश नेपाल जहाँ अस्थिर सरकार,अपरिपक्क नेतृत्व र अवसरबाद मौलाएको छ यहाँ हरेक क्षेत्र जबरजस्ती राजनीतिको चेपुवामा परेको छ ।

    देशको सामाजिक, आर्थिक लगायत सम्पूर्ण क्षेत्र राजनीतिबाटै निर्देशित भएको हुन्छ । यदि देशले असल, इमान्दार र दुरदर्शी नेतृत्व पाउने हो भने देश निर्माण हुन लामो समय लाग्दैन ।

    आजका राजनीतिक संकटमाथि समाधान पनि नदिने र दोस्रो पुस्तालाई हस्तान्तरण पनि नगर्ने हो भने त्यसबाट सिर्जित हुने विद्रोहले इतिहासमा पछिल्लो पुस्ताले गरेका सम्पूर्ण संघर्ष लोप हुने वा युवा पुस्ताले आफ्नो अधिकार खोसेर लिने कुरा कसैले रोकेर रोकिने छैन ।

    राजनीतिक प्रणालीले नै देशको राज्यको भविष्य कस्तो हुने? भन्ने कुराको सङ्केत गर्दछ । राजनीतिक उद्देश्यभित्र पार्टीहरू, चुनाव तथा हारजित, सरकार निर्माणजस्ता विषयवस्तुमात्र नभएर जनअभिमत र नागरिक आशा,अपेक्षा, भरोसालाई समेट्ने सिर्जनशीलता पनि चाहिन्छ । मूल्यमान्यताको परिपालन, खुल्ला तथा पारदर्शी गतिविधि,आत्मसम्मान र मर्यादाको संरक्षण, विध्वंस र उपद्रवको अन्त्य, समयसापेक्ष परिवर्तन र दूरदृष्टि साँच्चै नीतिहरूको राजा राजनीतिमा नभई नहुने गुण हुन् ।

    वर्तमान नेतृत्वको स्कुलीङबाट हुर्केका अहिलेका युवा पुस्ताबाट धेरै अपेक्षा गर्न नसकिने अवस्थाको सृजना भइरहेको छ । हामीले देख्दै आएका छौं युवा पुस्ता जसरी शक्ति र सत्ता केन्द्रित हुदै गएको छ यसले उनीहरुलाई शक्ति, सत्ता र सम्पत्तिको भोग जगाएको छ । राजनीति भनेको कसरी हुन्छ, शति शाली हुने, सत्तामा पुग्ने र सम्पत्ति कामाउने हो भन्ने सन्देश अहिलेको नेतृत्ववर्गले युवा पुस्तालाई दिइरहेको छ ।

    समाजमा अहिले भइरहेका विभिन्न घटना र गतिविधीहरुले यस्को पुष्टि गर्दछ । राजनीतिक दलहरु र यसका नेतृत्ववर्गहरु कार्यकर्ताको योगदानको भन्दा शक्ति, सत्ता र पैसाको पछाडी लाग्न थालेका छन्, जसको कारणले हाम्रो युवा पुस्तालाई गलत सन्देश दिएको छ ।

    नेपालका वर्तमान राजनीतिक दलहरुले कस्तो समाज निर्माण गर्न खोजी रहेका छन् । आफुहरुले असल शासन, गर्न नसकेपनि कम्तिमा युवा पुस्तालाई आफु जस्तो हुनबाट रोक्नुपर्दछ । समाजमा छातीको टाँक खोल्ने, पाखुरा सुर्कनेहरु र आफ्नो कुरा वा विचारमा सहमत नहुने प्रति जाइलाग्नेहरुको मनोवल र हिम्मत कसले भरिदिएको हो? समाजमा यस किसिमको प्रवृत्ति हावी हुनु र उनीहरुको आत्मविश्वास उकासने काम आजको नेतृत्वले गर्दैछ ।

    उल्लेखित प्रवृत्ति इतरका कार्यकर्तालाई सिमान्त तिर धकेल्न र उनिहरुलाई निराश बनाई समाजलाई अराजकता तिर धकेल्न जुन प्रयासहरु भइरहेका छन् यसको लागि समेत राजनीतिक दलका नेतृत्ववर्ग जिम्मेवार हुनुपर्दछ । यस किसिमका प्रवृत्ति नया नेपाल निर्माणका लागि बाधक मात्र हैन युवा पुस्ता प्रति आम नेपालीहरुको विश्वास पनि गुम्ने खतरा छ, तसर्थ राजनीतिक नेतृत्ववर्गले यस किसिमका क्रियाकलापबाट तत्काल सजक र सचेत भई युवा पुस्तालाई नैतिकवान् र जिम्मेवार बनाउदै नेतृत्व हस्तान्तरणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

    देशमा वर्ग, वर्ण, लिङ्ग, जाति, भूगोलमा विविधता भए तापनि भ्रष्टाचार आदानप्रदानमा भने एकरूपता देखिनु दुर्भाग्यको कुरा हो।सबैतिर अनेक–अनेक विषयमा ‘त्यो कामका निम्ति यति दान, यो कामका लागि यति सहयोग’ भन्दै अघोषित रूपमा घुस निश्चितप्रायः भएको देखिन्छ ।भ्रष्टाचारलाई अनिवार्य गतिविधिको रूपमा स्वीकार्नुपर्ने कस्तो विडम्बना हामी सबैको? के कारणले देशमा मडारिएयो यस्तो दुर्दशाको कालो बादल? हामी कसरी उम्कन सकौँला? यस्तो विसङ्गतिको पञ्जाबाट?

    के भनौँ भ्रष्टाचारबारे? देशमा कहाँ देखिँदैन भ्रष्टाचार? जन्मदेखि मृत्युसम्म मात्र होइन, मरिसकेपछिको पनि मान्छेलाई छोड्दैन भ्रष्टाचारी प्रवृत्तिको प्रभाव तथा माध्यमले जन्मदर्तादेखि मृत्युदर्ताको प्रमाणपत्र प्राप्त गर्दा घुसको कालो धन्दा देखिनु यसको प्रमाण हो । यसरी जन्मिए देखि नै शरीरमा टासिएको भ्रष्टाचारको छाया प्राणपखेरु उडीसक्दा पनि शरीरसँगै रहिरहन्छ भने जीवित रहँदासम्मको यसको वास्तविकता कसको अनुभवभित्र नरहला र? जहाँतहीँ पनि प्लेटफर्म देख्न सकिन्छ– ‘यहाँ निशुल्क सेवा प्रदान गरिन्छ’ तर त्यहाँ शुल्कबेगर प्रवेश पाइएको अवस्था भने छैन । बीसौँ हजार मानिसको दैनिक आवतजावत हुने ठाँउमा अवस्थित सार्वजनिक शौचालयबाट मात्र नै दिनभरमा सञ्चित रकम दशौँ हजार हुन्छ । त्यहाँ भएको व्यक्तिले नै त्यसबाट भुँडी बढाएको हुन्छ त उसले सर्वसाधारणको आवाज कसरी सुन्न ध्यान देला र?

    प्रशासनिक स्थलको नागरिक वडापत्रमा स्पष्टतः उल्लेख गरिएको पाइन्छ–‘घुस लिन्या र दिन्या दुवै शत्रु हुन्’ परन्तु यहाँ लेनदेनमा वैचारिक उच्चता देखिनुभन्दा पनि अकर्मण्यतामात्र हावी भएको देखिन्छ । गणतान्त्रिक नेपालको कुना–कुनामा व्याप्त यस भ्रष्टाचाररूपी विशालकाय दुष्ट राक्षसको पञ्जाबाट कसरी नेपाली जनता उम्किन सक्लान्? के ‘न्यायिक सर्वोच्चता’ यसको समाधानको विषय हुन सक्ला? यदि हो भने यसले पनि आफ्नो प्रकाश र प्रभाव किन तेजिलो बनाउन सक्दैन त? के न्यायालयले प्रजालाई देख्दैछ त?

    न्यायालयले प्रजाको हक–हित, समस्या र आवश्यकताबारे चिन्ता गर्नुपर्दछ’ यो सर्वस्वीकार्य विषय हो।तर न्यायालयलाई पनि स्वतन्त्र काम गर्ने वातावरण प्रदान गर्नुपर्दछ । यसबारे पनि माननीय सांसद्हरू सचेत हुनुपर्ने देखिन्छ । अन्त्यमा विजय र पराजय भन्ने कुरा प्रतिस्पर्धामा स्वतः नै प्राप्त हुन्छन् नै, त्यसैले कसैले विजयको उन्माद र कसैले पराजयको विषादको चित्र कोर्नेभन्दा पनि सुन्दर नेपालको भविष्यको गोरेटो बन्न सक्नुपर्छ । सबै विजेता नेपालीहरूको प्रतिनिधि र पराजित नेपालीहरूको प्रतिनिधिको मुख्य लक्ष्य भने नेपाल आमाको आँखामा मुस्कान छर्ने नै हो । अतः त्यो सानो लोकतान्त्रिक प्रक्रियालाई भुलेर स्वाधीन, समृद्ध र सुन्दर नेपाल निर्माणमा होस्टेमा हैँसे गरी अघि बढ्ने सद्बुद्धि सबैमा प्राप्त होस् । यही नै आजको आवश्यकता र सम्पूर्ण नेपालीहरूको चाहना हो ।

    ईश्वर गुभाजु ,अध्यक्ष,व्यापार सङ्गठन सिन्धुपालचोक जिल्ला, उपाध्यक्ष,नेकपा माओवादी केन्द्र जुगल गाउँपालिका

    बुधवार, पौष १४ २०७८०१:१८:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार