हामीले बाल्यकाल देखिनै सुन्दै आएको कुनै पनि कुराको विकास दिन दु-गुणा र रात चौ-गुणा हुन्छ आखिर किन भनिएको होला र कस्का लागि भनिएको होला हाम्रो नेपालको संविधानमा नेपाल राज्यको सवालमा नेपाल स्वतन्त्र,अविभाज्य,सार्वभौम सत्ता सम्पन्न,धर्म निरपेक्ष, समावेशी,लोकतन्त्रात्मक,समाजवाद उन्मुख,संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ।
साथै राष्ट्रिय हितको बिषयमा नेपाल स्वतन्त्रता,सार्वभौमसत्ता,भौगोलिकअखण्डता,राष्ट्रियता,स्वाधीनता,स्वाभिमान,नेपालीको हकहितको रक्षा,सिमानाकाे सुरक्षा,आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभुत बिषय हुनेछ भनिएको छ ।
संविधानमा उल्लेखित नेपाल राज्य र राष्ट्रिय हितको सवालहरूमा रहेर साच्चिकै आजको हाम्रो देशको गति र कार्यशैली अगाडि बढेको छ त?हाम्रो देशको संवैधानिक अंगहरले संविधानको मर्मअनुरूप काम गरिरहेकाे छन त?हामीले संविधानको प्रभावकारिता बारे जनस्तरबाट कहिँ कतै बहस गरेका छौ त? आज आमरूपमा प्रश्न खडा भएको छ ।
नेपालमा भएका ठुला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस लगाएत विभिन्न राजनीतिक दलहरूको महाधिवेशन सम्पन्न हुँदै गर्दा कहि कतै समाजवाद भनेको के हो? समाजवादमा पुग्ने आधारहरू केके हुन? नेपालको संविधानमा लेखिएको समाजवाद उन्मुख समाजको निर्माण कसरी हुन्छ? कसरी गर्न सकिन्छ? भनेर साथै नेपालमा रहेको श्रमजीवी वर्गको हितका निमित्त र रोजगारी सृजनाको निमित्त नयाँ अवधारणा ल्याई राष्ट्रिय पुजी निर्माणमा सहयोग पुय्राई आत्मनिर्भर अर्थतन्त्रको विकासका निमित्त बहस गरेको पाईएन ।
महाधिवेशन केबल तालि बजाएर वा निर्वाचन गरेर नेतृत्व परिवर्तन गर्नका लागि मात्र गरेको जस्तो देखियो। यहि पौष ११ गतेबाट सुरू भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण'भन्ने मुल नाराको साथ काठमाडौंमा सुरू भैरहेको छ। उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष कमरेड प्रचण्डले पार्टीको आगामी कार्ययोजना,रणनीति र राष्ट्रिय,अन्तर्राष्ट्रिय रूपमा देखिएको पुजीवादी शक्तिको विरूद्द नेपालको समाजवादको स्वरूपको बिषयमा पार्टीभित्र छलफल हुने र पार्टीको दस्तावेजमा समावेश गर्ने कुरा संक्षेपमा राख्नुभयो।
नेपालको वामपन्थी आन्दोलनमा सर्वहारा वर्गको नेतृत्व गर्ने प्रमुख पार्टी हुनुको नाताले वा पिछडिएको वर्गको मुक्तिका लागि लड्ने क्रान्तिकारी पार्टी हुनुको नाताले अहिलेको सुचना प्रविधिको युगमा विश्वसँग आत्मनिर्भर भै बलियोसँग प्रतिस्पर्धा गर्नका निमित्त किसान,मजदुर र श्रमजीवी वर्गको सदुपयोग कसरी गर्न सकिन्छ?माओवादी पार्टीले श्रमजीवी वर्गको हितमा कस्तो अवधारणा ल्याएर राष्ट्रिय रूपमा लैजान्छ सबैको चासोको बिषय हो।
त्यसैले म माओवादी पार्टीको कार्यकर्ता भएकोले यो आठौं महाधिवेशनमा श्रमजीवी वर्गको हित,राष्ट्रको विकास र विश्वसँग प्रतिस्पर्धा गर्नका निमित्त देशको ठुला शहरहरूमा दिनरात नै काम गर्न र श्रम गर्न मिल्ने गरि शहरको व्यवस्थापन गर्ने बिषयमा छलफल होस भन्ने सुझाव दिन चाहान्छु। कुनै पनि कुराको विकास`दिन दुगुणा र रात चौगुणा´हुन्छ भन्ने कुरा आज विश्वका अधिकांश देशहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ। दिनमा हुने,गर्न सकिने सबै काम रातमा पनि गर्न सकिन्छ भन्ने कुरा धेरै देशहरूबाट पुष्टि भैसकेको छ। जसले राष्ट्र विकासको गतिलाई दोब्बर पारेको हुन्छ। त्यस्ता देशहरूसँग प्रतिस्पर्धा गर्न र आत्मनिर्भर बनेर नेपालमा नै रोजगारी सृजना गर्ने हो भने सर्वप्रथम हाम्रो देशमा रहेको भाते संस्कार त्यागेर रातमा पनि दिनको जस्तै काम गर्ने वातावरण बनाई रोजगारीकाे सृजना गर्ने काम गर्नुपर्दछ।
सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टी भएकोले माओवादी पार्टीको महाधिवेशनमा छलफल गरि यो बिषयमा आफ्नो धारणा बनाउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणकाे नेतृत्व पनि माओवादी पार्टीले गर्न सक्दछ। हाम्रो देशको राजधानी शहर काठमाडौंमा समेत बिहान ५ बजे अघि र बेलुका ८ बजेपछि यातायातको सुबिधा छैन्। एउटा श्रमशक्ति भएको व्यक्तिले आफ्नो श्रम विविध कारणले बिहान भात खाएपछिबाट बेलुका भात खानु अघि सम्म मात्र गर्न पाउँछ वा गर्ने संस्कार छ। भाते संस्कारबाट अघि बढेको श्रमबाट जेनतेन निर्वाहमुखी जीवनयापन सम्भव छ। तर राष्ट्रिय रूपमा यसले विकासको गति दिन सकिरहेको छैन।
संविधानमा व्यवस्था भए अनुसार सर्वोपरि हितका निमित्त,राष्टको विकासको निमित्त र बढ्दो बेरोजगारी समस्या समाधानको निमित्त पनि रातमा दिनमा सरह काम गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो। न्यूनतम आवश्यकता परिपुर्ति गर्न र जनताको आधारभूत अधिकारहरू सुनिश्चित गर्नका निम्ति राजनीतिक दलहरूको धारणाहरू आए पनि आम सर्वहारा वर्ग, पिछडिएका वर्गले महसुस गर्ने गरि राष्ट्रिय रूपमा टेवा पुग्ने गरि राजनीतिक योजनाहरूको निर्माण नहुदा राजनीतिक दलहरूप्रति वितृष्णा पैदा भैरहेको छ।
महाधिवेशन केबल नेतृत्व परिवर्तनका लागि र राजनीति सत्ता हत्याउनका लागि मात्र भएझैं गरि मिठा भाषण गरेर जनमत हिने र राष्ट्रको हितविपरीत काम गर्ने दलहरूको अगाडि जनताको बिचमा लोकप्रिय कार्यक्रम बन्न सक्छ। सबै प्रतिनिधिका बिचमा छलफल गरि साझा धारणा प्रस्तुत गर्न सके नतिजा आगामी १०१५ बर्षभित्र अवश्य देखिनेछ। त्यसका लागि कुरा होइन काम गरेर देखाउन सके मात्र जनताको लोकप्रिय पार्टी बन्न सकिन्छ।
विश्वको प्रविधि सँगसँगै अगाडि बढ्न, राज्यको दिगो र द्रुत विकासमा सहयोग पुर्याई`दिन दुगुणा र रात चौगुणा'ले राष्ट्रनिर्माणका लागि दिनसरह रातमा पनि काम गर्ने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। दिनभर काम गरेर रातमा क्याम्पस पढ्न सक्ने, दिनभर पढेर रातमा काम गरि आधारभूत आवश्यकतामा परिवारमा निर्भर हुन नपर्ने गरि शैक्षिक वर्गको उत्पादन देशलाई अत्यावश्यक भएको छ। रातिको १२-१ बजे कुनै पनि महिला,बालबालिकाहरू शहरमा बाहिर निस्कदा सुरक्षित भएर हिड्न पाउने अवस्था जबसम्म आउदैन हामी एक कदम अघि बढ्दा विश्व चार कदम अगाडि पुगिसकेको हुन्छ।
समयानुकूल राष्ट्र विकासको गति परिवर्तन गर्न सकेमात्र दिनरात विदेशी भुमिमा रगत पसिना बगाउनका लागि एयरपोर्टमा लाग्ने लाईन कम हुनेछ। हाम्रो देशको समृद्धि हाम्रै पुस्तामा सम्भव छ। समाजवाद यात्रा सम्भव छ। यसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्न सकोस् आठौं महाधिवेशन सफलताको शुभकामना!!
अनेरास्ववियू (क्रान्तिकारी) सिन्धुपालचोक जिल्ला उपाध्यक्ष हरी पौडेल
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।