बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले बताएका छन् ।
मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रमुख सचेतक निरौलाले बताए । मन्त्री बन्नेहरुको नाम भने उनले खुलाउन चाहेनन् । मुख्यमन्त्री शाक्यले आज मध्याह्न १२ बजे मन्त्रीहरु नियुक्त गरी शपथ गराउने तयारी भइरहेको उनले बताए ।
मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन् ।
भदौ २ गते मुख्यमन्त्री बने लगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् । २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारी सहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् । अन्य मन्त्रालय भने मुख्यमन्त्री शाक्य आफैले सम्हाल्दै आएकी छन् ।
बागमती प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमाले विभाजनपछि शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री शाक्यले राजीनामा नदिने बताएकी छन् ।।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।