बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत

मेगा खबर संवाददाता

१५, भाद्र २०७८
  • 2.0K
    SHARES

  • सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत

    सुदूरपश्चिम प्रदेशसभाका २५ एमाले सांसदमध्येमा १० जनाले (आज) मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका छन् ।

    आज निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा पुगेर उनीहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका छन् ।

    एमाले छाडेर उक्त पार्टीमा सामेल हुनका लागि १३ सांसद निर्वाचन आयोगको कार्यालयमा पुगे पनि तीन जना भने आवश्यक दस्तावेज नभएका कारण सनाखतबिना नै फर्किएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् ।

    उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ । सनाखत गराउने १० सांसदमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी,अमरबहादुर साउद, चुनकुमारी चौधरी,मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार निर्वाचन आयोगले भदौ २२ सम्म सनाखतका लागि समय दिएको छ । नेकपा एमालेभित्रै सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल निष्प्रभावी देखिएका छन् ।

    आज मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावलजस्ता पुराना कमाण्डरमात्रै नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्टजस्ता राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्ने नेता समेत छन् । कमाण्डर विहीन अवस्थामै सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपालका पक्षमा १३ सांसद उभिएका हुन् ।

    २२ गतेसम्म नेकपा समाजवादीको पक्षमा यो संख्या अझै बढ्न सक्ने नेताहरुले दावी गरे । नेपाल यसअघि पक्षका नेता भनेर चिनिएका उपाध्यक्ष समेत रहेका रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागेका थिए ।

    सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा विभाजन भएपछि रावल नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इन्चार्ज बनाएका थिए । एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इन्चार्ज रहेको सर्कुलर जारी गरेका थिए ।

    राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधान विपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन् । अहिले केही प्रतिक्रिया छैन,अन्तिम परिणाम आओस् अनि बोलौँला,नेता रावलको भनाइ छ ।

    नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेकी प्रदेश सांसद दुर्गाकुमारी कामीले सुदूरपश्चिम प्रदेशका सांसदहरुले व्यक्ति नरोजेर विचार रोजेको प्रतिक्रिया दिइन् । उनले ओलीको विचार समूह प्रतिगामी विचार समुह र नेपाल नेतृत्वको समुह अग्रगमनको पक्षमा रहेकाले प्रदेशका धेरै सांसद नेकपा समाजवादीमा लागेको बताइन् ।

    हाम्रो प्रदेशका माननीयहरु विचारको पक्षमा लाग्नुभएको छ, अग्रगमनको बिचार बोक्ने समुहमा लाग्नुभएको छ यो राम्रो संकेत हो प्रदेश सदस्य कामीको भनाइ छ ।  

    मंगलवार, भाद्र १५ २०७८०७:५४:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार