बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् ।
मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए । मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् । खनालले एमाले विभाजित भएर नयाँ दल दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर बुधबार केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेका हुन् ।
खनाल र प्रदेश सभाका सदस्यसमेत रहेका अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ। प्रदेश सभामा हाल कायम रहेको १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य रहेका थिए
दुई जना खनाल र पाण्डेले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखत गरेसँगै एमालेको शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने भएको हो। गोरखापत्रमा यो खबर छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।