बागमती प्रदेशसभाको मंगलबार २ बजेका लागि तय गरिएको बैठक साढे ३ बज्दासमेत बस्न सकेको छैन ।
प्रदेशसभाको नियमावली संशोधनका लागि सर्वदलीय बैठक बस्न नसकेकाले बैठक सुरु हुन ढिलाइ भएको एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले बताएका छन् । हिजो सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभाको नियमावली संशोधनका लागि विपक्षी दलहरुले साझा धारणाका लागि सर्वदलीय बैठक बस्नु पर्ने माग गरेका थिए प्रमुख सचेतक निरौलाका अनुसार प्रतिपक्ष दलका केही नेताहरु जिल्ला बाहिरबाट आउनु पर्ने भएकाले सर्वदलीय बैठक बस्न ढिलो भएको छ ।
छिट्टै दलका नेताहरु बसेर प्रदेशसभा नियमावली संशोधन समितिका लागि नाम सिफारिस गरी सकेपछि प्रदेशसभा बैठक बस्ने उनले बताए । असार २८ गते चालु आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक ३५ दिनपछि आज बस्न लागेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा बैठकको कार्यसूची अनुसार बैठकमा शून्य समय र विशेष समयको व्यवस्था गरिएको छ भने प्रदेशसभाको बैठकको सुरुवातमा यसअघि संसद्ले पारित गरेको विधेयकलाई प्रदेश प्रमुख कार्यालयबाट प्रमाणीकरण गरिएको ब्यहोराको पत्र वाचन गरिने कार्य सूची रहेको छ ।
बैठक शून्य समयमा प्रवेश हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । त्यस्तै प्रवक्ता अमात्यका अनुसार आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन प्रस्ताव प्रस्तुत हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।