काठमाडौं, कोरोना संक्रमण बढ्दै गएपछि आज (मंगलबार) देखि देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १४ जिल्लाका २५ सहरमा विद्यालय, कलेज लगायत शिक्षण संस्था यही वैशाख भरका लागि बन्द गरिएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले संक्रमणबाट विद्यार्थी बचाउन सहरी क्षेत्रका शिक्षण संस्थासँगै रात्रिकालीन व्यवसाय तथा फिल्म हललागयत भीडभाड स्थल वैशाख मसान्त सम्मका लागि बन्द गराएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजदेखि काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर र भीमदत्तनगर क्षेत्रका शिक्षण संस्था बन्द गरिएका छन् ।
मन्त्री गुरुङका अनुसार अब २५ सहरी क्षेत्रमा वैशाख मसान्त सम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर खुल्ने छैनन् । विद्यालय बन्द भएका क्षेत्रमा अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्नेछ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमण दर बढ्दै गएको छ । दैनिक मृत्यु दर पनि बढ्न थालेको छ । संक्रमण नियन्त्रणका लागि सरकारले केही प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।