काठमाडौँ, त्रिभुवन विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीले ट्रान्सक्रिप्ट लिन अझै पनि ठूलो झन्झट बेहोर्नुपरेको गुनासो गरेका छन् । अनलाइनबाट आवेदन र राजस्व भुक्तानी गरे पनि प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालयमै पटक–पटक धाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।
नाम, रजिस्ट्रेसन नम्बर वा अभिभावकको विवरणमा त्रुटि हुँदा समस्या झन् जटिल बन्ने गरेको छ । प्राविधिक समस्या र पुरानो कागजी प्रक्रियाका कारण कतिपय विद्यार्थीले महिनौँसम्म ट्रान्सक्रिप्ट पाउन नसकेको बताएका छन् ।
जनप्रशासनमा स्नातकोत्तर गरेका दीपक ऐरले प्रक्रिया पूरा गरी राजस्व बुझाएको नौ महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट नपाएको बताए । कार्यालय पुग्दा कहिले सफ्टवेयरको समस्या त कहिले प्राविधिक अभाव देखाउँदै फर्काउने गरिएको उनको गुनासो छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले भने, आवश्यक कागजात र प्रक्रिया पूरा भए सामान्यतः ७ देखि १० दिनमै ट्रान्सक्रिप्ट उपलब्ध गराउन सकिने जनाएको छ । मौका परीक्षा तथा क्याम्पस तहमा भएका पुराना विवरणका कारण केही विद्यार्थीको प्रमाणपत्र रोकिएको कार्यालयको भनाइ छ ।
ट्रान्सक्रिप्टको समस्या समाधान माग गर्दै हालसम्म करिब तीन सय विद्यार्थीका निवेदन परेको र नियमसँग जोडिएका विषयमा प्राज्ञिक परिषद्बाट निर्णय आवश्यक पर्ने त्रिविले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।