बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालविवाह रोक्न १ सय ९० छोरीको बैंक खाता

बालविवाह रोक्न १ सय ९० छोरीको बैंक खाता

मेगा खबर संवाददाता

१५, आषाढ २०७७
  • 3.0K
    SHARES

  • बालविवाह रोक्न १ सय ९० छोरीको बैंक खाता

    कैलाली । टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम अन्तर्गत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक १ हजार खातामा जम्मा गरिदिने गरेको हो ।  नगरपालिकाले यस वर्ष १९० छोरीको कृषि विकास बैंकमा खाता खोलिदिएको छ । बालविवाह अन्त्यका लागि यो अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले बालविवाहका असर, बालविवाहविरुद्ध भएको कानूनी व्यवस्था र टीकापुर पछिल्लो बालविवाहको अवस्थाबारे जानकारीसमेत दिने गरेको छ ।

    ‘बालविवाह समाजमा अभ्यासका रुपमा विकास भएको देखियो, यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पार्छ’, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहले भन्नुभयो, ‘नगरपालिकाको उद्देश्य बालविवाह रोक्नुका साथै छोरीप्रति गर्व गर्ने वातावरण बनाउने पनि हो ।’ नगरपालिकाले आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

    नगरपालिकाले छोरीको खातामा हरेक वर्ष १ हजारका दरले २० वर्षसम्म रकम जम्मा गरिदिने योजना बनाएको छ । २० वर्ष पूरा भएको छोरीलाई एकमुष्ट २० हजार उपलब्ध गराइनेछ । ‘यो रकम २० वर्षअगावै विवाह गर्ने छोरीलाई भने दिइने छैन’, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, ‘यो कार्यक्रमको एउटै उद्देश्य बालविवाह अन्त्य गर्ने हो । त्यसका साथै छोरीको महत्व बुझाउने प्रयास पनि हो ।’ नगर प्रमुख रावलका अनुसार यो कार्यक्रमले समयमै घटना दर्ता गर्नतर्फ पनि अभिभावक सचेत हुनेछन् ।

    टीकापुर अस्पतालको तथ्याङ्क हेर्दा अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन् । ‘बालविवाह गर्नेको संख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ’, नगर प्रमुख रावल भन्नुहुन्छ, ‘जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ । २० वर्षपछि विवाह गर्ने छोरीलाई मात्र एकमुष्ट २० हजार नगरपालिकाले दिनेछ ।’ आजभोलि छोरी जन्मने बित्तिकै अभिभावक जन्मदर्ता गर्न आउन थालेको महिला शाखा प्रमुख शाहले जानकारी दिनुभयो । ‘विगतमा आवश्यक परेमात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ’ उहाँले भन्नुभयो ।

    सोमवार, आषाढ १५ २०७७०१:०६:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार