बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चितवनमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैँ

चितवनमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैँ

मेगा खबर संवाददाता

३, बैशाख २०७८
  • 1.4K
    SHARES

  • चितवनमा कोरोना सङ्क्रमणको बढ्दो जोखिमः विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दैँ

    चितवन । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए ।  

    कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका निवर्तमान अध्यक्ष समेत रहेका खतिवडाले मानव स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भएकाले भीडभाडमा बच्चालाई पठाउनु जोखिम भएको बताए ।


    कोरोना भाइरस सङ्क्रमण जोखिम बढेसँगै जिल्लाका संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् । लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य रोबी केयुले एउटा कक्षामा तीन÷चार जना विद्यार्थी कम आएको बताए । उनले भने, ‘रुघा, खोकी र ज्वरो आएका विद्यार्थीलाई घरमा नै आराम गर्न भनेका छौँ । सचेत अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन छाडेसँगै ठूला संस्थागत विद्यालयमा विद्यार्थी घट्न थालेका छन् ।

    नारायणी नमूना मावि भरतपुरका प्राचार्य पूर्णप्रसाद दवाडीले आफ्नो विद्यालयमा एक जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएको र केही शिक्षक बिरामी परेको बताए । यस्तै अवस्था रही रहेमा विद्यालय सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ । 
    शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले संस्थागत विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको भन्ने जानकारी प्राप्त भएको बताए ।

    सातवटै पालिकाका शिक्षा प्रमुखसँग छलफल गरेर के गर्ने भन्ने विषयको टुङ्गो लगाउने उनको भनाइ छ । मन्त्रालय र विभागमा आफूले समन्वय गरिरहेको भन्दै उनले सम्पूर्ण विद्यालयलाई सावधानी अपनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए । पछिल्लो समयमा बालबालिकामा समेत कोरोना सङ्क्रमण देखिन थालेपछि त्रास बढेको हो । 
    जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १३ पुगेको छ । जसमध्ये ९८ सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये ११४ को मृत्यु भइसकेको छ ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरकालाई सङ्क्रमण देखिन थालेको बताए । सबैले आ–आफ्नो ठाउँबाट स्वास्थ्य निर्देशिका कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत गरी ५३९ विद्यालय छन् । ती विद्यालयमा एक लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् ।

    शुक्रवार, बैशाख ३ २०७८०१:५७:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार