काठमाडौं, चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका हुन् ।
योग्य आवेदक १२ लाख ११ हजार ११५ मध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने यी मध्यकै दुई जनाले थप एक एक कित्ताका दरले पाएका छन् ।
कम्पनीको आईपीओमा १२ लाख १६ हजार ९५३ जनाको आवेदन परेकोमा पाँच हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् बाँकी रहेको १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन मध्येबाट गोलाप्रथाले १३ लाख ९६ हजार २२ कित्ता सेयर एक लाख ३९ हजार ६०२ जनालाई बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये १० लाख ७१ हजार ५१५ जनाले भने सेयर नपाएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले गएको पुस २४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको थियो ।
त्यसबाट ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको थियो ।
कम्पनीले यसअघि परियोजना प्रभावित काठमाडौं र मकवानपुरका स्थानीयको लागि आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आईपीओमा आवेदन गर्ने सबैलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । यो योजना यही माघ ५ गतेदेखि एक वर्षसम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।