काठमाडौँ, काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ ।
कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको हो ।
पुस्तकालय सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र आधुनिक किसिमको हुने कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए । पुस्तकालयमा सदस्यता लिएका व्यक्तिले जुनसुकै स्थानमा बसेर पनि अध्ययन गर्न सक्ने छन् ।
योजना आनुरुप नै काम भए आगामी दुई महिनामा सञ्चालनमा आउने भएको छ । नवनिर्मित हाइस्कूलमा त्यस्तो पुस्तकालय सञ्चालनका लागि सोहीअनुरुप नै संरचना तयार गरिएको छ । त्यसका लागि कामपा वडा नम्बर २७ र विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा काम हुदैछ ।
कामपा क्षेत्रमा रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालयमा अध्ययनअध्यापन गर्ने सबै शिक्षक र विद्यार्थीका लागि पुस्तकालय बढी उपयोगी हुने विश्वास लिइएको छ । कोरोना कहरका कारण भौतिक रुपमा पठनपाठन गर्न गराउन नसकिएको अहिलेका समयमा अत्याधुनिक पुस्तकालयबाट ठूलो सहयोग पुग्ने कामपा –२७ का सदस्य परिवेशमान बज्राचार्यले बताए ।
व्यक्तिलाई सदस्यता लिएको पुस्तकालय व्यवस्थापनले पासवर्ड दिने र इन्टरनेटमार्फत जहाँ सुकैबाट सुविधा लिन सकिन्छ । गोरखा भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेको भानु मावि र संस्कृत मावि पुनःनिर्माण सम्पन्न भई गएकाे कात्तिक ५ गते राष्ट्रपतिले रानीपोखरी पुनः निर्माणसँगै उद्घाटन गरे पनि कोरोना महामारीका कारण हाल बन्द छ नै रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।