सिन्धुपाल्चोक, मध्य भोटेकोशी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको अवसरमा कर्मचारीको योगदानको सम्मान,सेवा सुविधासम्बन्धी विषय र बडादसैँ तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समग्र उद्योग ट्रेड युनियन नेपाल,मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आयोजनामा बाह्रबिसे नगरपालिका–५, खोराङस्थित आयोजना कार्यालयको कभर्डहलमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १०२ मेगावाट क्षमताको आयोजना सम्पन्न गर्न कर्मचारीले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनीहरूका जायज माग र सेवा सुविधालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा आयोजना प्रमुख सन्दीप जोशीले कर्मचारीका जायज मागप्रति व्यवस्थापन सकारात्मक रहेको बताउँदै आपसी समझदारी र सहकार्यबाट समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी,लेखा तथा प्रशासन प्रमुख अरुणप्रसाद न्यौपानेले आयोजनालाई विद्युत् उत्पादनको चरणसम्म पुर्याउन कर्मचारीको मेहनत र परिश्रम महत्त्वपूर्ण रहेको बताए ।
युनियनका अध्यक्ष केशव तामाङले कर्मचारीको योगदान अनुसार सेवा सुविधा उपलब्ध गराउनु कम्पनीको जिम्मेवारी भएको उल्लेख गर्दै मध्य भोटेकोशीको कार्यप्रकृति र कर्मचारीको योगदानका आधारमा न्यायोचित व्यवस्था गर्नुपर्ने बताए । उनले सेवा सुविधाका विषयमा चिलिमे जलविद्युत् कम्पनीको नजिरलाई मात्र आधार नबनाई मध्य भोटेकोशीको आफ्नै आवश्यकता र अवस्थाअनुसार निर्णय गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा गत भदौ १० गते रसुवा–त्रिशूली क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाएका जलविद्युत् आयोजनाका कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो । साथै,विद्युत् उत्पादन दिवसको स्मरणसँगै कर्मचारीबीच एकता,सहकार्य र सद्भाव अभिवृद्धि गर्ने तथा बडादसैँ र दीपावलीको शुभकामना आदानप्रदान गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।