काठमाडौं, साताको लगातार चौथो कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से १६.२९ अंकले घटेर २६७२ अंकमा कायम भएको छ । यससँगै साताको चार कारोबार दिनमै नेप्से कुल ६२ अंकले ओरालो लागेको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित रह्यो । आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत परिसूचक राताम्मे हुँदा विकास बैंक र जलविद्युत् समूहमा एक प्रतिशतभन्दा बढी गिरावट देखियो ।
एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १,१३८ रुपैयाँ पुगेको छ। सेन्ट्रल फाइनान्स, शुभम् पावर र तारागाउँ रिजेन्सी पनि बढ्ने कम्पनीमा रहे । यता कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र रिजलाइन इनर्जीका लगानीकर्ताले पनि उल्लेख्य गिरावट बेहोरे ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् र सेन्ट्रल फाइनान्स सबैभन्दा बढी कारोबार भएका कम्पनी बने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।