काठमाडौं, नेपाली सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २,६९६।४६ बिन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन बजार ३३।२८ अंकले घटेको थियो ।
दिनभर बजारमा उतारचढाव देखिएको थियो । कारोबारको क्रममा दिउँसो १२:१० बजे नेप्से २,६८१ बिन्दुसम्म झरेको भए पनि अन्त्यमा केही सुधार हुँदै २,६९६ बिन्दुमा बन्द भयो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित रह्यो ।
आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । अधिकांश समूहगत सूचक सामान्य उतारचढावमै रहे । फाइनान्स,होटल तथा पर्यटन,व्यापार र जलविद्युत् समूहमा हरियाली देखिए भने बैंकिङ, विकास बैंक,लगानी,जीवन बीमा,उत्पादन तथा प्रशोधन,माइक्रोफाइनान्स,निर्जीवन बीमा र अन्य समूहमा गिरावट आयो ।
हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर सबैभन्दा धेरै लाभ कमाउने कम्पनी बन्यो। याम्बलिङ हाइड्रोपावर,सिर्जनशील लघुवित्त र सानीगढ हाइड्रोपावरको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो ।
यता, कुथेली बुखरी स्मल हाइड्रोपावर,धौलागिरि लघुवित्त र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट देखियो ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स,रिडी पावर, सोलु हाइड्रोपावर,ग्लोबल आईएमई बैंक र रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन् ।
लगातार दोस्रो दिन बजारमा गिरावट आए पनि केही कम्पनीमा लगानीकर्ताको आकर्षण कायम रहेको देखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।