काठमाडौँ,साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।
सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा झरेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्याउन लागेको कम्पनी ऐन,२०८३’ को मस्यौदामा २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत हस्तान्तरण शुल्क लाग्ने प्रस्तावले बजार वृद्धि हुन सकेन । पुँजीबजार लगानीकर्ताहरू २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा थप १ प्रतिशत व्ययभार थपिने आशकामा अन्योलसँगै तरङ्गित बनाएको देखिन्छ । उक्त व्यवस्था विषयमा लगानीकर्ताहरूले चौतर्फी विरोध गरेका थिए ।
त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स १.८४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन बिमा उपसमूहको परिसूचक १।३९ प्रतिशत घटेको छ । वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से १६.५४ अंकले बजार घटे पनि चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर भने ५.८३ प्रतिशतले घटेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।