काठमाडौँ, असार १३ गते, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।
२०७१ सालपछि पहिलो पटक पासफेलसहितको नतिजा निकालिएको हो । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पासफेल अङ्कित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो । कम अङ्क ल्याउने विद्यार्थीहरूको हकमा समेत माथिल्लो कक्षा पढ्न पाउने अवस्था थियो । तर,यो पटक भने ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागु भएसँगै नतिजामा पासफेलको विवरण देखिन थालेको हो । २०८० सालको एसईईको नतिजा २०७१ साल अघिकै अवस्थामा फर्किएको छ ।
लेटर ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गर्नुअघि २०७१ सालमा ४७।४३ प्रतिशत थियो । २०७२ सालदेखिको नतिजा लेटर ग्रेडिङ अनुसार हुँदै आएको थियो ।र विद्यार्थीहरूलाई ग्रेडअनुसार नै कक्षा ११ मा पढ्न पाउने व्यवस्था गरिएको थियो ।
यो वर्ष भने सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीको प्रमाणपत्रमा ‘एनजी’ (नन ग्रेडेड) आउनेछ । उनीहरूले कक्षा ११ मा पढ्न पाउने छैनन् । त्यसका लागि बढीमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले एक महिनाभित्र हुने ग्रेड बृद्धि परीक्षामा सहभागी भएर ग्रेड बृद्धि गर्न पाउनेछन् । दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले अर्को वर्ष हुने एसईई परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक लाख १५ हजार ८३४ विद्यार्थीले ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन् । २०८० सालको नतिजा अनुसार दुई लाख ४२ हजार ३१४ विद्यार्थीको नतिजा ‘एनजी’ आएको थियो । तीमध्ये दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् भने बाँकीले अर्को वर्ष हुने परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।