काठमाडौँ, साउन ११ गते, बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ । बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरेर सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ । प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३ .१८ प्रतिशतले घटेको छ ।
प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ । विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि चौतर्फीरुपमा सार्वजनिक सवारी साधनको भाडादर घटाउन प्रदेश सरकारलाई दबाब परेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।